काठमाडौँ: मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा नेपाल–चीन व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला, र व्यापार सहजीकरण समिति बैठक लगायत दुई देशबीचका विविध विषयमा छलफल भएको महावाणिज्यदूतावासले जनाएको छ।
महावाणिज्यदूत निरौलाले नेपाल र चीनबीच हिमाल, पहाड, र नदीनालाले जोडिएको ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले हालसम्म नेपाललाई पुर्याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि नेपाल–चीन साझेदारी अझै मजबुत हुने अपेक्षा व्यक्त गर्नुभयो।
महानिर्देशक चेनले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै नेपालको आर्थिक र भौतिक पूर्वाधार विकासमा चीन निरन्तर सहयोग गर्न तयार रहेको बताउनुभयो।
बैठकमा नेपालका कृषि उत्पादन चीनमा निर्यात गर्न पहल गर्ने, पारवहन र व्यापार सहजीकरणलाई प्रभावकारी बनाउने, र सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा प्रतिबद्ध गरिएका परियोजनाहरू कार्यान्वयनमा जोड दिने सहमति भएको छ। साथै, नेपाल–चीन सीमा नाकाहरूको प्रभावकारी सञ्चालन, पूर्वाधार विकास, द्विपक्षीय भ्रमण आदानप्रदान, र व्यापार मेलामा सहभागिता बढाउने विषयमा छलफल भएको थियो।
सीमा नाकामा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्ने, दुई देश र जनताको हितमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको महावाणिज्यदूतावासले जनाएको छ।


