Sunday, July 5, 2026
Homeसामाचारवीरगञ्जमा रातभर नाला सरसफाइ, डुबान न्यूनीकरणमा महानगरको सक्रियता

वीरगञ्जमा रातभर नाला सरसफाइ, डुबान न्यूनीकरणमा महानगरको सक्रियता

वीरगञ्ज (पर्सा), ३ असार: मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा मनसुनलाई ध्यानमा राख्दै रातको समयमा पनि नाला सरसफाइ अभियान तीव्र पारिएको छ। ट्राफिक भीडभाड हुने क्षेत्रलाई लक्षित गर्दै रातको समयमा एक्जाभेटर र ट्रयाक्टरको सहयोगमा प्रमुख नालीहरू सफा गरिँदैछ।

सोमबार राति जिल्ला प्रशासन कार्यालय आसपास र वीरगञ्ज–१३ मुर्ली क्षेत्रमा श्रमिक परिचालन गरेर नाला सरसफाइ गरिएको हो। महानगर प्रमुख राजेशमान सिंहका अनुसार घण्टाघरको हुलाक कार्यालयदेखि भन्सार कार्यालयसम्मको मुख्य नाला सरसफाइलाई विशेष प्राथमिकता दिइएको छ। “वैभव वीरगञ्ज अभियान साकार पार्न पनि हामी कुनै हालतमा सरसफाइमा सम्झौता गर्दैनौं,” उहाँले भन्नुभयो।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगञ्जमा पछिल्लो समय देखिएको परिवर्तन उल्लेखनीय रहेको भन्दै बाहिरी आगन्तुकले समेत शहर सफा भएको अनुभूति गर्ने गरेको बताउनुभयो। “महानगरले दिनरात नभनी नाली सफा गर्दै आएको छ, जुन अत्यन्त सराहनीय कार्य हो,” उहाँले जोड दिनुभयो।

एनके इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताका अनुसार मनसुनमा सडकमा पानी जम्ने समस्या न्यूनीकरण गर्न सरसफाइ अभियान थालिएको हो। सार्वजनिक–निजी साझेदारीमा फोहर व्यवस्थापनको जिम्मा लिएको उक्त कम्पनी महानगरका साना टोल नालीहरूमा मानव जनशक्तिको प्रयोग गरी सरसफाइ गर्दै आएको छ।

वीरगञ्ज–१३ का स्थानीय नैमाजुदिन अन्सारीले तीन वर्षअघि सडक बनेयता पहिलो पटक नाली सरसफाइ थालिएको बताए। “ढकन खोलेर रातको समयमा सरसफाइ थालिएको यो प्रयास सकारात्मक छ, निरन्तरता जरुरी छ,” उहाँले बताए।

महानगरको सरसफाइ शाखा प्रमुख सर्फुदिन मियाँका अनुसार वर्षायाममा डुबान न्यूनीकरण गर्न नाला सरसफाइ कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको हो। “वर्षौँपछि अभियानकै रूपमा नाली सफा भइरहेको छ, यसले डुबान नियन्त्रणमा सघाउ पुर्‍याउने छ,” उहाँले बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका