वीरगञ्ज (पर्सा), २० असार: सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालित टोलीले भन्सार छलेर ल्याइएको झण्डै १८ लाख ५५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार कपडा बिहीबार वीरगञ्ज महानगरपालिका–१ अन्तर्गत छपकैया र नदिया टोलस्थित दुई गोदामबाट बरामद गरिएको हो। बरामद सामग्री सोही दिन वीरगञ्ज भन्सार कार्यालयमा हस्तान्तरण गरिएको जानकारी दिइएको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणले चालु आर्थिक वर्षको असार १० गतेसम्ममा मात्र रु ३८ करोड २७ लाख ७९ हजार ८९० बराबरका अवैध सामग्री बरामद गरिसकेको छ।
त्यसमध्ये रु २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार कार्यालयमा दाखिला गरिएको छ भने बिलबिजक नभएका रु १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामग्री राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको सूचना अधिकारी सिंहले जानकारी दिनुभयो।
भन्सार छल्ने कार्य रोक्न सशस्त्र प्रहरीले नियमित निगरानी तथा नियन्त्रणलाई अझ कडा बनाउने बताइएको छ।


