Saturday, May 9, 2026
Homeराजनीतिविवादका कारण मकवानपुरमा मतगणना सुरु हुन सकेन

विवादका कारण मकवानपुरमा मतगणना सुरु हुन सकेन

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा मतगणना सुरु हुन सकेको छैन।

मतगणनाको प्रक्रिया अघि बढाउन बसेको सर्वदलीय बैठकमा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको हो। बैठकमा सहभागी विभिन्न दलका प्रतिनिधिहरूले वडा–वडाको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले कुन वडाबाट कति मत आएको भन्ने स्पष्ट जानकारी हुनुपर्ने भन्दै वडा अनुसार मतपत्र गन्नुपर्ने अडान राखेका छन्। सर्वदलीय सहमति बिना मतगणना अगाडि बढाउन नसकिने पनि उनीहरूको भनाइ छ।

दलका प्रतिनिधिहरूले वडा अनुसार गणना नगरे मतगणना हुन नदिने चेतावनीसमेत दिएका छन्। “यदि हाम्रो कुरा लागू हुँदैन भने सर्वदलीय बैठकको के अर्थ ?” भन्ने प्रश्न पनि उनीहरूले उठाएका छन्।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले भने मतदाताको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर वडा अनुसार छुट्टै मतगणना गर्न नसकिने बताउनुभएको छ। निर्वाचन अधिकृत देवेन्द्र आचार्यले पनि निर्वाचनसम्बन्धी प्रावधानअनुसार एकभन्दा बढी वडाका मतपत्र मिसाएर गणना गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए।

सर्वदलीय सहमति जुटेपछि मात्रै मतगणना सुरु गरिने बताइएको छ। मकवानपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् भने कुल ४४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका