काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा गम्भीर घाइते भएका दुई जनालाई कुल ३३ लाख ५९ हजार ६७३ रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले सुर्खेतकी आठ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ तथा प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर)लाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
रश्मीलाई १३ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति
सुर्खेतको पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा महेन्द्र राजमार्गअन्तर्गत निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार नजिक पुगेको थियो । सोही क्रममा स्थानीय टीकाराम जैसीकी आठ वर्षीया छोरी रश्मी नुहाएर घर फर्कने क्रममा विद्युत्को तार छुँदा गम्भीर घाइते भएकी थिइन् ।
विद्युत् दुर्घटनामा परेर पूर्ण अंगभंग भएकी रश्मीको विभिन्न अस्पतालमा उपचार गरिएको थियो । उपचारका क्रममा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो । प्राधिकरणले यसअघि उपचारका लागि तीन लाख रुपैयाँ पेश्की उपलब्ध गराएको थियो ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार उपचारका लागि उपलब्ध गराइएको तीन लाख रुपैयाँ पेश्की कट्टा गरी क्षतिपूर्ति तथा राहतबापत बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ रश्मीलाई उपलब्ध गराइनेछ । यससँगै उनको नाममा स्वीकृत कुल रकम १३ लाख ८१ हजार ३७२ रुपैयाँ हुनेछ ।
नेपाल विद्युत् प्राधिकरण दुर्घटना क्षतिपूर्ति नियमावली, २०६७ अनुसार गठित समितिको निर्णय, इलाका प्रहरी कार्यालय बवियाचौरको सर्जिमिन मुचुल्का, पञ्चपुरी नगरपालिकाको सिफारिस तथा प्राधिकरणको मेडिकल बोर्डको २०८३/०४/२१ को निर्णयका आधारमा क्षतिपूर्ति स्वीकृत गरिएको हो । उपचारका बिल, प्रेस्क्रिप्सन तथा पूर्ण अंगभंग भएको पुष्टि गर्ने कागजातका आधारमा रकम स्वीकृत गरिएको प्राधिकरणले जनाएको छ ।
घाइते कर्मचारीलाई १९ लाख ७८ हजार रुपैयाँ
यसैगरी, प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
प्राधिकरणका अनुसार मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भन्ने शेरबहादुर मगर २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।
उपचारका लागि उनलाई सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचार खर्चबापत ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।
मगरले यसअघि १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको सदस्य शाहीले जानकारी दिए।


