Tuesday, August 4, 2026
Homeसामाचारविदेशबाट फर्किने नेपालीलाई विमानस्थल प्रहरीको आग्रह: अपरिचितको सुन वा सामान नबोक्नुहोस्

विदेशबाट फर्किने नेपालीलाई विमानस्थल प्रहरीको आग्रह: अपरिचितको सुन वा सामान नबोक्नुहोस्

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट नेपाल फर्कने नेपाली नागरिकलाई अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परेर सुन तथा अन्य बहुमूल्य वस्तु नल्याउन आग्रह गरेको छ।

कार्यालयका अनुसार पछिल्ला दिनहरूमा दुबई, कतार लगायतका मुलुकबाट नेपाल फर्कने क्रममा केही नेपालीलाई दलाल तथा सुन तस्करहरूले आर्थिक प्रलोभन देखाएर सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन अनुरोध गर्ने गरेको पाइएको छ।

यस्ता व्यक्तिहरूले सामानसँगै खरिद बिलसमेत उपलब्ध गराए पनि नेपाल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा पक्राउ परेर कानुनी कारबाही भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको सुरक्षा कार्यालयले जनाएको छ।

सूचना जारी गर्दै कार्यालयले अपरिचित व्यक्ति, सुन तस्कर वा दलालले दिएको सुन, बहुमूल्य धातु वा अन्य सामान आफ्नो नाममा बोकेर नेपाल नल्याउन आग्रह गरेको छ। साथै, वास्तविक विवरण नबुझी अरूको झोला, प्याकेट वा अन्य सामान आफ्नो जिम्मामा नलिन पनि सचेत गराइएको छ।

प्रहरीले खरिद बिल वा अन्य कागजात भएको भन्दैमा कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न आग्रह गर्दै सानो लापरबाहीले पनि गम्भीर कानुनी समस्या निम्त्याउन सक्ने चेतावनी दिएको छ।

सुरक्षा कार्यालयले दलालको प्रलोभनबाट टाढा रहन र विमानस्थलमा कुनै शंकास्पद गतिविधि वा प्रलोभन देखिएमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई जानकारी गराउन सबै यात्रुसँग अनुरोध गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका