भैरहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिलामन्त्री सिमा मल्होत्राबीच रूपन्देहीमा आज भेटवार्ता भएको छ।
भेटवार्तामा नेपाल र संयुक्त अधिराज्यबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकास प्राथमिकताबारे विस्तृत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी र रोजगारीमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको जानकारी दिँदै उत्पादनमुखी लगानी प्रवर्द्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण र डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने लक्ष्य रहेको बताए।
उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति, सहिष्णुता र करुणाको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै दिगो विकास, लगानी प्रवर्द्धन, पर्यटन विकास तथा मानव पूँजी विकासका क्षेत्रमा बेलायतसँग सहकार्य विस्तार हुने विश्वास व्यक्त गरे।
भेटका क्रममा मानव पूँजी विकास, सीप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार विकास, सुशासन तथा डिजिटल रूपान्तरणका क्षेत्रमा बेलायतको सहयोग प्रभावकारी हुने विषयमा छलफल भएको बताइएको छ।
मुख्यमन्त्री आचार्यले शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपद् व्यवस्थापन तथा सुशासन सुधारका क्षेत्रमा बेलायतले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे।
भेटवार्तामा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्याललगायतको सहभागिता रहेको थियो।


