Friday, May 8, 2026
Homeराजनीतिरास्वपा सरकार गठनको तयारीमा, प्रधानमन्त्री बालेनबारे सहमति

रास्वपा सरकार गठनको तयारीमा, प्रधानमन्त्री बालेनबारे सहमति

काठमाडौं । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा जुटेको छ। सरकार गठनका विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच निरन्तर छलफल भइरहेको छ।

रास्वपाले निर्वाचनअघि नै बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्दै चुनावी मैदानमा उत्रिएको थियो। हाल बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको स्रोतले जनाएको छ।

तर मन्त्रिपरिषद् गठन, मन्त्री छनोट तथा संसदीय दलको नेता चयनजस्ता विषयमा भने रवि लामिछाने र बालेन शाहबीच घनिभूत छलफल जारी रहेको छ।

यसैबीच चुनावी व्यस्तताका कारण बिरामी परेका सभापति लामिछाने हाल बूढानीलकण्ठस्थित आफ्नै निवासमा आराम गरिरहेका छन्। उनको सचिवालयका अनुसार लामिछानेलाई ज्वरो र पिसाब संक्रमण (युरिन इन्फेक्सन) देखिएको छ। चिकित्सकले उनलाई अझै एक–दुई दिन आराम गर्न सुझाव दिएका छन्।

स्वास्थ्य अवस्थाका कारण पछिल्ला दिनमा पार्टीका शीर्ष नेताहरूबीचको महत्त्वपूर्ण छलफल पनि लामिछानेकै निवासमा भइरहेको छ। अहिले समानुपातिक सांसद चयन, संसदीय दलको नेतृत्व प्रक्रिया मिलाउने तथा सम्भावित मन्त्रिपरिषद् गठनका विषयमा पार्टीभित्र आन्तरिक गृहकार्य चलिरहेको छ।

निर्वाचन आयोगले समानुपातिकतर्फ पठाउने उम्मेदवारहरूको सूची तीन दिनभित्र उपलब्ध गराउन दलहरूलाई पत्र पठाएको छ। त्यसैले रास्वपाले पनि उक्त सूची टुंग्याउने तयारी गरिरहेको छ।

पार्टी विधानका केही प्रावधानले बालेनलाई प्रधानमन्त्री बनाउन सहज नहुने देखिएकाले त्यसलाई कसरी मिलाउने भन्ने विषयमा पनि नेतृत्व तहमा छलफल भइरहेको स्रोतले जनाएको छ।

यसैबीच सम्भावित मन्त्रीहरूको नामबारे पनि आन्तरिक छलफल चलिरहेको छ। स्रोतका अनुसार बालेन शाहले रवि लामिछानेलाई पार्टी संगठन सञ्चालनमा ध्यान दिन आग्रह गर्दै आफूलाई स्वतन्त्र रूपमा सरकार सञ्चालन गर्न दिने प्रस्ताव राखेका छन्।

जनताले रास्वपाप्रति ठूलो अपेक्षा राखेकाले परिणाममुखी काम गर्न सक्षम टोलीसहित सरकार गठन गर्नुपर्नेमा बालेनले जोड दिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका