Sunday, June 28, 2026
Homeसामाचारराष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त

राष्ट्रपतिद्वारा महावीर जयन्तीको शुभकामना व्यक्त

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक भगवान् महावीरको २६२४ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गर्नुभएको छ।

राष्ट्रपति पौडेलले आज जारी गर्नुभएको शुभकामना सन्देशमा महावीरले अहिंसा र संयमको उच्चतम साधनाका साथै जनकल्याणका लागि दिनुभएको मार्गदर्शनलाई जीवनमा उतार्न सकेमा धार्मिक, सामाजिक र सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम रहनुका साथै राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले आपसी विश्वास, प्रेम र एकताको भावना अझ प्रगाढ बनाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणतर्फ अग्रसर हुन महावीर जयन्तीले सबैलाई प्रेरणा दिने आशा व्यक्त गर्नुभएको छ।

हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीहरूले विविध कार्यक्रमहरू आयोजना गरी भगवान् महावीरको जन्मजयन्ती उत्साहपूर्वक मनाउने गर्छन्। महावीरले मोक्षप्राप्तिका लागि पाँच मार्ग— अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रह — को सिद्धान्त प्रतिपादन गर्नुभएको थियो।

नेपालमा वैदिक, बौद्ध, जैन र सिख समुदायहरूबाट हर्षोल्लासपूर्वक महावीर जयन्ती मनाउने परम्परा रहिआएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका