काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण, निर्णय प्रक्रिया र राजनीतिजस्ता राज्यका सबै क्षेत्रमा महिलाको समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँले भन्नुभयो, “लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य पूरा गर्न हरेक क्षेत्रमा महिलाको समान अवसर आवश्यक छ।”
परम्पराका नाममा समाजमा रहेका हानिकारक अभ्यास र प्रथाका कारण किशोरी तथा बालिकामाथि शारीरिक तथा मानसिक हिंसा बढिरहेको उल्लेख गर्दै उहाँले यस्ता विकृतिलाई निर्मूल गर्न प्रभावकारी र सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ।
राष्ट्रपतिले जनसङ्ख्याको आधा हिस्सा ओगटेका महिलाहरू सशक्त भएमा परिवार, समाज र समग्र राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्ने बताउँदै यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। साथै, महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद र उत्पीडनको अन्त्यका लागि सबै क्षेत्रबाट योगदान गर्न आह्वान गर्नुभएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको ११५औँ वार्षिकोत्सवका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरू, महिला अधिकारकर्मी, तथा महिलाको हक र अधिकार प्रवर्द्धनमा सक्रिय सबैलाई राष्ट्रपतिले सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले सन्देशमा थप्नुभयो, “यस दिवसले हामी सबैलाई महिलाको हक, अधिकार, समानता, सशक्तिकरण तथा सम्मानप्रति पूर्ण संवेदनशील भई कार्य गर्न ऊर्जा, उत्साह र प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु।”
लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि हरेक वर्ष मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले यस वर्षको आदर्श वाक्य ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ तय गरेको छ।
यो दिवसले विश्वभर कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै प्रविधिमा पहुँच विस्तार, महिला सशक्तिकरण अभिवृद्धि, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने तथा महिलालाई शिक्षित, आत्मनिर्भर र सम्मानित बनाउनका लागि पहल गर्ने लक्ष्य लिएको छ।


