काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृ तथा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
ओलीले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध चरित्रहत्या, गालीगलौज, धम्की तथा घृणास्पद अभिव्यक्ति फैलाइएको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा दुवै जनालाई शनिबार चितवनबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जना पुरुष रहेको प्रहरीले जनाएको छ।
साइबर ब्युरोका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तथा अनुसन्धान भइरहेको छ।
सांसद ओलीले शुक्रबार साइबर ब्युरोमा उजुरी दर्ता गरेपछि आरोपितहरूको तस्बिरसमेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिएकी छन्।
ओलीले असहमति, आलोचना वा फरक विचार व्यक्त गर्नु लोकतान्त्रिक समाजको स्वाभाविक र स्वागतयोग्य अभ्यास भए पनि कसैको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, धम्की दिने तथा घृणास्पद अभिव्यक्ति फैलाउने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएकी छन्।
कारबाही प्रक्रिया अघि बढाएकोमा उनले साइबर ब्युरो र नेपाल प्रहरीप्रति धन्यवाद व्यक्त गरेकी छन्। यसअघि पनि यस्तै प्रकृतिको उजुरीका आधारमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको थियो।


