काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री शरदराज पाठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पाठकले राप्रपासँगको आफ्नो राजनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका हुन्।
तत्कालीन विवेकशील साझा पार्टी छाडेर नेता रवीन्द्र मिश्रसँगै राप्रपा प्रवेश गरेका पाठकलाई करिब चार वर्षअघि पार्टीको महामन्त्रीको जिम्मेवारी दिइएको थियो।
राप्रपालाई समयानुकूल पुनर्संरचना गर्दै सुशासनप्रति इमानदार र सबै वर्ग तथा समुदायले भरोसा गर्न सक्ने राजनीतिक दल बनाउने सहमति भए पनि त्यसअनुसार काम हुन नसकेको भन्दै आफू पार्टीबाट अलग भएको उनले बताएका छन्।
पाठकले राप्रपाको घोषित सिद्धान्त र व्यवहारबीच गम्भीर विरोधाभास रहेको आरोपसमेत लगाएका छन्। उनले पार्टीले ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह हो’ भन्ने नारालाई मूलमन्त्र माने पनि व्यवहारमा प्रतिबद्धता र पारदर्शिताको ठूलो अभाव देखिएको बताएका छन्।
पार्टीभित्र केन्द्रमा आन्तरिक बेमेल र गुटगत स्वार्थको तिक्त सङ्घर्ष बढ्दै गएको उल्लेख गर्दै उनले यस्तो परिस्थितिले नयाँ पुस्ताका इमानदार तथा सचेत युवालाई पार्टीतर्फ आकर्षित गर्न नसक्ने टिप्पणी गरेका छन्।
विद्यमान अवस्थामा पार्टीभित्रबाट परिवर्तन ल्याउन सक्ने सम्भावना नदेखिएपछि अलग हुने निर्णयमा पुगेको पाठकले बताएका छन्। पार्टी परित्यागको निर्णयमा आफ्नो पनि केही कमजोरी रहेको उनले स्वीकार गरेका छन्।


