काठमाडौँ । नेपाल राष्ट्र बैंक का गभर्नर डा. विश्वनाथ पौडेल ले आफ्नो राजीनामाबारे चलिरहेका चर्चा र हल्लालाई व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र राष्ट्र बैंकले संयुक्त रूपमा आयोजना गरेको बैंकिङ तालिम कार्यक्रममा बोल्दै उनले अहिलेसम्म कसैले पनि आफूलाई राजीनामा दिन आग्रह नगरेको स्पष्ट पारे।
‘व्यक्ति हुनु वा नहुनुमा धेरै चासो राख्नु पर्दैन, पदहरू अस्थायी हुन्,’ उनले भने, ‘म यहीँ बसेर जिन्दगी बिताउँछु भनेर आउने पद होइन।’
गभर्नर पौडेलले हरेक पदको निश्चित अवधि हुने उल्लेख गर्दै पदप्रति अत्यधिक मोह राख्नु उपयुक्त नहुने बताए। ‘जिम्मेवारी पाउनु एउटा तथ्य हो, तर त्यसमा अनावश्यक आसक्ति राख्नु हुँदैन,’ उनले थपे।
मिडियामा मात्र राजीनामासम्बन्धी चर्चा देखिएको भन्दै उनले कसैले प्रत्यक्ष रूपमा यस्तो प्रस्ताव नगरेको बताए। साथै, सार्वजनिक पदमा रहेकाले जनचासो र मिडियाको बहसलाई स्वाभाविक रूपमा लिएको उल्लेख गर्दै आफ्नो जिम्मेवारीप्रति आफू प्रतिबद्ध रहेको उनले बताए।


