Wednesday, August 26, 2026
Homeमुख्य समाचाररसुवामा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

रसुवामा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि ४०३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्।

सम्पर्कविहीन पर्यटकमध्ये २०३ जना पुरुष र २०० जना महिला छन्। बाढीका कारण सडक तथा सञ्चार सम्पर्क प्रभावित भएपछि उनीहरूको अवस्थाबारे तत्काल जानकारी लिन कठिनाइ भइरहेको पर्यटन बोर्डले जनाएको छ।

सम्पर्कविहीन विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। बोर्डका अनुसार भारतका १३३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। त्यस्तै, अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटक सम्पर्कविहीन रहेको जनाइएको छ।

यसैगरी, युक्रेनका सात, दक्षिण अफ्रिका र सिंगापुरका छ–छ, न्युजिल्यान्ड र जापानका पाँच–पाँच, जर्मनीका चार, फ्रान्सका तीन तथा स्पेनका दुई जना पर्यटक पनि सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ।

बाढीका कारण रसुवाको उत्तरी क्षेत्रमा सडक, सञ्चार तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको छ। यसले उद्धार तथा खोजी कार्यमा समेत कठिनाइ उत्पन्न भएको जनाइएको छ।

सम्पर्कविहीन पर्यटकको अवस्था पत्ता लगाउन सम्बन्धित निकायले खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने प्रयास गरिरहेका छन्। प्रभावित क्षेत्रमा सञ्चार तथा सडक सम्पर्क पुनःस्थापना गर्दै पर्यटकको अवस्थाबारे जानकारी संकलन गर्ने काम भइरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका