रसुवा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका नौ जनाको धरौटी जफत भएको छ।
मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीका अनुसार धरौटी जफत हुनेमा छ दलका उम्मेदवार र तीन स्वतन्त्र उम्मेदवार रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ अनुसार १० प्रतिशत मत प्राप्त गर्न नसकेका कारण उनीहरूको धरौटी जफत भएको हो।
धरौटी जफत हुने उम्मेदवारमा नेकपाका माधवप्रसाद लामिछाने, उज्यालो नेपालका मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनका विनोद थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद घिमिरे, प्रगतिशील लोकतान्त्रिकका दावा मिङ्मर तामाङ तथा नेकपा माओवादी (विप्लब) का होमप्रसाद आचार्य रहेका छन्।
यसैगरी स्वतन्त्र उम्मेदवारतर्फ चित्रकुमारी देवकोटा, मिङ्मर तामाङ र सागर लामा पनि धरौटी जफत हुने सूचीमा परेका छन्।
निर्वाचन ऐनअनुसार पुरुष उम्मेदवारको भन्दा महिला उम्मेदवारको धरौटी शुल्क ५० प्रतिशत कम हुने व्यवस्था छ। रसुवाबाट महिला उम्मेदवारका रूपमा एकमात्र चित्रकुमारी देवकोटाले उम्मेदवारी दिएका कारण उनको पाँच हजार रुपैयाँ र अन्य पुरुष उम्मेदवारको हकमा जनही १० हजार रुपैयाँका दरले जम्मा भएको कुल ९५ हजार रुपैयाँ राज्यकोषमा जाने भएको छ।
रसुवामा नौ दल र तीन स्वतन्त्र गरी कुल १२ जना उम्मेदवार रहेका थिए। निर्वाचनमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्।
धरौटी फिर्ता पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट र नेकपा एमालेका प्रेम तामाङ रहेका छन्।
जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार निर्वाचन ऐन तथा नियमावलीअनुसार सबै उम्मेदवारले चुनावी खर्च विवरण ३५ दिनभित्र बुझाउन दल तथा स्वतन्त्र उम्मेदवारलाई पत्राचार गरिएको छ।


