काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमार्गमा फसेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेकाका पीडित परिवार तथा आयोजना सञ्चालक समितिका पदाधिकारीसँग मन्त्रालयमा संयुक्त छलफल गर्दै मन्त्री श्रेष्ठले उद्धारका लागि राज्यले उपलब्ध सबै स्रोतसाधन परिचालन गर्दै हरसम्भव प्रयास गरिरहेको बताए।
सुरुङमा फसेकाहरूको समस्या पीडित परिवारको मात्रै नभई राज्यकै जनशक्ति र सम्पत्तिसँग जोडिएको विषय भएको उनको भनाइ थियो। विपत्तिका कारण ठूलो जनशक्ति गुमाउनुपरेको उल्लेख गर्दै उनले उद्धारका लागि आफूहरू निरन्तर प्रयासरत रहेको बताए।
‘मलाई अहिले पनि केही हुन्छ कि, कोही कुरिरहेको छ कि भन्ने जिम्मेवारीबोधले हामी लागिरहेका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘यस्तो भइरहँदा कतै केही छुट्यो कि भन्ने अर्कै खालको गिल्टी हुन्छ। तर यो महाविपत्ति कल्पनाभन्दा बाहिरको थियो। म तपाईंहरूलाई विश्वस्त पार्न चाहन्छु, राज्य सरकार तपाईँहरूसँगै छ।’
प्रधानमन्त्रीले पनि उद्धारका लागि स्रोतसाधनमा कुनै कमी हुन नदिने र आवश्यक सबै काम गर्न निर्देशन दिएको उनले बताए।
मन्त्री श्रेष्ठले आजैदेखि पीडित परिवारलाई नियमित सूचना उपलब्ध गराउन सक्रिय हुन निर्देशन दिए। उनले दिउँसो पीडित परिवारलाई कार्यालयमै राखेर उद्धार प्रयास तथा घटनाको पछिल्लो अवस्थाबारे जानकारी दिनसमेत निर्देशन दिएका छन्।
पीडित परिवारलाई नियमित र सत्य सूचना उपलब्ध गराउनु राज्यको जिम्मेवारी भएको उनले बताए।
‘बोर्डले हरेक पीडित परिवारका लागि डेडिकेटेड व्यक्ति तोकेर २४सै घण्टा सम्पर्कमा रहनुपर्यो। उहाँहरूले केही खोज्नुभएको होइन, सत्य सूचना खोज्नुभएको हो,’ उनले भने, ‘मलाई चित्त दुखेको कुरा के हो भने यो सूचना अरू परिवारमा पनि प्रभावकारी रूपमा प्रवाह भइरहेको छैन।’
मन्त्री श्रेष्ठले सम्बन्धित प्रत्येक कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले पनि पीडित परिवारसँग नियमित संवाद गर्नुपर्ने बताए।
उद्धारका लागि आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउन हेलिकप्टरको अभाव चुनौती बनेको उनले उल्लेख गरे।


