Thursday, June 25, 2026
Homeराजनीति‘रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार भयो, उहाँको सपना पूरा गर्न उम्मेदवारी दिएको हुँ’...

‘रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार भयो, उहाँको सपना पूरा गर्न उम्मेदवारी दिएको हुँ’ : यज्ञमणि न्यौपाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा प्रतिनिधिसभा सदस्य यज्ञमणि न्यौपानेले पार्टी सभापति रवि लामिछानेमाथि अन्याय र प्रतिशोधपूर्ण व्यवहार भएको दाबी गर्दै उनको सपना साकार पार्न आफू नेतृत्वमा उम्मेदवार बनेको बताएका छन्।

बुधबार रास्वपाको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले न्यायाधीश बन्ने आफ्नो चाहना रहे पनि समय, परिस्थिति र नियतिले राजनीतिमा ल्याएको बताए। उनले पुराना दलहरूले गरेका कमजोरी सच्याउँदै देशको भविष्य परिवर्तन गर्ने जिम्मेवारी अब रास्वपाको काँधमा आएको उल्लेख गरे।

उनले राज्यले रवि लामिछानेमाथि अन्याय, दमन र प्रतिशोधपूर्ण व्यवहार गरेको दाबी गर्दै त्यसविरुद्ध आफूले अदालतदेखि सार्वजनिक मञ्चसम्म आवाज उठाएको बताए।

न्यौपानेले सरकारलाई पार्टीको नीति र सिद्धान्तअनुसार सञ्चालन गराउन तथा नीति निर्माण प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्न आफ्नो उम्मेदवारी रहेको बताए। कानुन अध्ययन र सांसदको अनुभवले पार्टीलाई संस्थागत रूपमा बलियो बनाउन योगदान पुग्ने उनको भनाइ थियो।

रवि लामिछानेको सपना समृद्ध नेपाल निर्माण गर्नु रहेको उल्लेख गर्दै उनले त्यो लक्ष्य हासिल गर्न सामूहिक नेतृत्व आवश्यक पर्ने बताए। एक व्यक्तिले मात्र देश परिवर्तन गर्न नसक्ने भन्दै पार्टीका विचार र सिद्धान्तलाई संस्थागत गर्न सक्षम नेतृत्वको आवश्यकता रहेको उनले बताए।

न्यौपानेले रास्वपाको मूल आधार र प्रेरणाको स्रोत नै रवि लामिछाने रहेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध राख्ने उद्देश्यले पनि उम्मेदवारी दिएको बताए।

महाधिवेशनमा प्रतिस्पर्धा स्वाभाविक भए पनि गुट–उपगुटको राजनीतिबाट टाढा रहन उनले आग्रह गरे। योग्य, सक्षम र इमान्दार नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै मतदानलाई देशको भविष्यसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।

महाधिवेशन लम्बिँदा देशभरबाट आएका प्रतिनिधिहरूले आर्थिक तथा व्यवस्थापकीय कठिनाइ भोग्नुपरेको स्वीकार गर्दै उनले निर्वाचन प्रक्रिया छिटो टुंग्याउन पार्टी नेतृत्व र निर्वाचन टोलीलाई निरन्तर आग्रह गरिरहेको बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका