एजेन्सी। रोजगारी र सुरक्षित भविष्यको खोजीमा युरोप प्रवेश गर्न खोज्ने हजारौँ आप्रवासीहरू मोरक्कोसँग जोडिएको स्पेनको सानो सहर स्युटामा अलपत्र परेका छन्। युरोपको मुख्य भूभाग नजिकै भए पनि कानुनी प्रक्रिया र कडा सीमा नियन्त्रणका कारण उनीहरू गन्तव्यमा पुग्न नसकी सीमाक्षेत्रमै रोकिएका हुन्।
उत्तरी अफ्रिकामा अवस्थित स्युटा र मेलिल्ला भौगोलिक रूपमा अफ्रिका महादेशमा परे पनि प्रशासनिक रूपमा स्पेनका क्षेत्र हुन्। युरोपेली संघको बाह्य सीमाका रूपमा रहेका यी दुई सहर लामो समयदेखि कागजातविहीन आप्रवासीहरूका लागि युरोप प्रवेशको प्रमुख मार्ग मानिन्छन्।
विगतमा धेरै आप्रवासीहरूले सीमाको बार नाघेर वा समुद्र पार गरेर स्युटा प्रवेश गर्ने प्रयास गर्दै आएका थिए। त्यहाँबाट स्पेनको मुख्य भूभाग हुँदै युरोपका अन्य देश पुग्ने उनीहरूको लक्ष्य हुने गरेको छ।
हाल स्युटामा रहेका अधिकांश आप्रवासीसँग स्पेन वा अन्य शेङ्गेन मुलुक प्रवेशका लागि आवश्यक वैध कागजात छैन। त्यसैले उनीहरू अस्थायी आश्रय केन्द्रमा बस्न बाध्य भएका छन्।
मोरक्कोका एक आप्रवासी हसनले आफू रोजगारीको खोजीमा स्युटा पुगेको बताउँदै स्पेनमा फर्निचर निर्माण, नाइको काम वा अन्य कुनै पनि काम गर्न तयार रहेको बताएका छन्।
यता, स्थानीय बासिन्दाले भने ठूलो सङ्ख्यामा आप्रवासी आएपछि सहरको पूर्वाधार र सार्वजनिक सेवामा दबाब बढेको बताएका छन्। उनीहरूका अनुसार करिब ८० हजार जनसङ्ख्या रहेको सानो सहरमा एक्कासि धेरै मानिस आउँदा व्यवस्थापन गर्न चुनौती बढेको छ।
स्थानीय ट्याक्सी चालक करिमका अनुसार अहिले धेरै आप्रवासी न युरोप प्रवेश गर्न सकेका छन्, न मोरक्को फर्कन चाहन्छन्। परिणामस्वरूप उनीहरू सीमाक्षेत्रमै अन्योल र अनिश्चित भविष्यका बीच बस्न बाध्य भएका छन्।


