काठमाडौं। थाइल्याण्डको राजधानी बैंकक नजिक शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। घटनामा एक किशोरले आफ्नै हजुरबुबा–हजुरआमाको हत्या गरेपछि विद्यालयमा पुगेर अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ।
थाइल्याण्डको राष्ट्रिय प्रहरीका अनुसार किशोरले सुरुमा आफ्ना हजुरबुबाको पेस्तोल प्रयोग गरी हजुरबुबा र हजुरआमाको हत्या गरेका थिए। त्यसपछि नोन्थाबुरी प्रान्तस्थित देबसिरिन नोन्थाबुरी स्कूल पुगेर तीन शिक्षक र तीन विद्यार्थीको गोली हानी हत्या गरेका हुन्।
घटनामा भाग्ने क्रममा १५ जना विद्यार्थी घाइते भएका छन्। उपगृहमन्त्री पोलपी सुवन्चवीका अनुसार उनीहरूलाई गोली नलागेको भए पनि भागदौडका क्रममा चोटपटक लागेको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी सोही विद्यालयमा अध्ययनरत किशोर विद्यार्थी थिए। घटनापछि उनको पनि मृत्यु भएको छ। केही सञ्चारमाध्यमले प्रहरीको गोलीबाट मृत्यु भएको उल्लेख गरेका छन् भने केहीले उनले आत्महत्या गरेको जनाएका छन्।
गोलीकाण्डपछि विद्यालय परिसरमा ठूलो सङ्ख्यामा प्रहरी, उद्धारकर्मी तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। आफ्ना बालबालिकालाई सुरक्षित लैजान अभिभावकहरू विद्यालय पुगेका थिए भने विद्यार्थी र कर्मचारीहरू त्रसित अवस्थामा विद्यालयबाट बाहिरिएका थिए।
घटनापछि थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चानविराकुलले यसलाई अत्यन्त दुःखद र अस्वीकार्य घटना भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
थाइल्याण्ड दक्षिण–पूर्वी एसियामा सर्वसाधारणको पहुँचमा बन्दुकको संख्या धेरै भएका देशमध्ये एक मानिन्छ। कडा कानुनी व्यवस्था बनाउने प्रयास भइरहे पनि विद्यालय र सार्वजनिक स्थानमा हुने गोलीकाण्डका घटनाहरू समय–समयमा दोहोरिँदै आएका छन्।
सन् २०२२ मा पनि थाइल्याण्डको एक बालस्याहार केन्द्रमा भएको भीषण आक्रमणमा ३६ जनाको ज्यान गएको थियो, जसलाई देशको इतिहासकै सबैभन्दा घातक सामूहिक हत्यामध्ये एक मानिन्छ।


