काठमाडौं। इन्डोनेसियाको राजधानी जकार्तामा कोब्राको मासुबाट बनाइने विभिन्न परिकार बिक्री हुने बजारको भिडियो सामाजिक सञ्जालमा यतिबेला व्यापक रूपमा भाइरल भइरहेको छ।
भाइरल भिडियोमा कोब्राको मासुबाट तयार गरिएका टिक्का, कबाब, पकौडा, समोसा, ससेज र सुपलगायतका परिकार बिक्री भइरहेको देखिन्छ। स्थानीयवासीले यी परिकार रुचिपूर्वक खाने गरेको दाबी भिडियोमा गरिएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा जीवित कोब्रालाई सुरक्षित रूपमा नियन्त्रणमा राखिएको र ग्राहकको मागअनुसार त्यसको मासु पकाएर परिकार बनाइने दृश्य देख्न सकिन्छ। भिडियोअनुसार पसलमा सयौँ जीवित कोब्रा राखिएका छन्।
पसल सञ्चालकले स्थानीय बजारमा कोब्राको मासुको माग उच्च रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार कोब्राको मासुबाट विभिन्न परिकार तयार गरी ग्राहकलाई बिक्री गरिन्छ।
यो भिडियो पाकिस्तानका एक भ्लगरले इन्डोनेसियाबाट खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन्। भिडियो सार्वजनिक भएपछि कोब्राको मासु बिक्री र उपभोगको विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।
यद्यपि, भिडियोमा देखाइएका दृश्य र दाबीहरूको स्वतन्त्र पुष्टि भने भएको छैन।


