चाडपर्वअन्तर्गत रहेका सर्वप्राचीन यथार्थ पक्ष र परम्परा बिर्सिएर यससम्बन्धी मौलिकता स्थापित हुन सक्दैन।
नेपालमा तिहार वा भाइटीकाजस्तै अनेक पर्व प्रचलित छन्। सामाचखेवा, जितिया, राखी र चासोक तङनाम आदि पर्वहरू चेलीमाइतीका बीचको आदर र आदर्श सम्बन्ध स्थापित गर्ने युगान्तकारी पर्वहरू हुन्। कतिपय चाडपर्वका सर्वप्राचीन सही मान्यता अझै उजागर गर्न सकिएको छैन। तिहारसित मिल्दाजुल्दा नेपालका विभिन्न पर्वको विशद् अध्ययन गरेर प्रकाशन गर्नुपर्छ।
प्रायः वैदिक सनातनी वा हिन्दू सम्प्रदायका भनिएका चाडपर्वहरूलाई समयक्रममा बिटुलो बनाइएको देखिन्छ। यी चाडहरूमा सामन्तवादी संस्कृतिको सार पक्ष कलात्मक हस्तक्षेपका साथ प्रवेश गराएको देखिन्छ। यसको प्रत्यक्ष उदाहरण सार्वजनीन, सार्वकालिक र सर्वजन सरोकार तथा उत्साहका चाडहरूलाई सामन्तवादले संकुचित तथा संकीर्ण बनायो। तिनलाई एक जात, जाति, धर्म, र समुदायमा सीमित गरिदियो। त्यसैले सबै नेपाली सबै खुसी हुने र आनन्दित हुने दसैं र तिहारजस्ता पर्वहरूलाई हिन्दूकरण गरिएको स्पष्ट देखिन्छ। एउटै चाडपर्व पनि बहुधामिक, बहुसांस्कृतिक तथा बहुभूगोलका जनताले बहुप्रकारले मनाएको विशेष स्थिति नेपालमा पाइन्छ।
श्रम संघर्षहरू भौतिक तथा आत्मिक संस्कृति निर्माणका मूल आधार हुन्। त्यसैले शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न विभिन्न चाडपर्वहरू प्रारम्भ भएको पाइन्छ र नेवार समुदायले मनाउने म्हः पूजा अर्थात् शरीरको पूजा, उभौली उधौली, हलसारो र हलेरो, भूमे पूजा पर्व वा चाड जात्री पर्र्वहरू शारीरिक तथा मानसिक पुनर्ताजगी प्राप्त गर्न सुरु गरिएको स्पष्ट हुन्छ। चाडपर्वहरूमा ऋतु परिवर्तनको प्रभाव पनि परेको देखिन्छ। देश, काल, स्थान र धार्मिक सांस्कृतिक भिन्नताले गर्दा एउटै चाडका सार पक्षमा समानता भए पनि रूपहरूमा भिन्नता देखिन्छ।
त्यसैले नेपालीको तिहार भाइटीका नै हो। दीपावली मित्रराष्ट्र भारतीय जनताको पर्व हो। यो नेपालको तिहारमा भाइटीका लगाइन्छ। बरु राखी चाहिँ नेपालको तिहारसित सन्निकट रहेको छ। शब्दमा पनि संस्कृति ध्वनित हुन्छ। यस्ता कुरामा अत्यन्त सचेत भइएन भनेर जथाभावी शब्द प्रयोग गर्न थालियो भने नेपालको सांस्कृतिक मौलिकतामा आँच आउने निश्चित देखिन्छ। मातृप्रधान समाजमा एउटै आमाका सन्तानहरूका बीच बिहेबारी गर्ने परिपाटीविरुद्ध सुरु गरिएको विषयसित पनि घनिष्ट रूपमा तिहार सम्बन्धित देखिन्छ। अब एउटै आमाका सन्तानहरूका बीच बिहेबारी गर्ने होइन तिनीहरूका बीच चेलीमाइतीजस्तो सम्मानित आदर र आदर्श सम्बन्ध कायम गर्ने युगान्तकारी पर्व हो तिहार।
तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड हो। तिथिबार र त्यौहार हुँदै तिहार शब्द निर्मित तथा प्रचलित बनेको मानिन्छ। यो पर्व पनि कृषि कर्मको एउटा चरण पूरा गरेपछि पुनर्ताजगी प्राप्त गर्न मनाउन सुरु गरिएको चाड हो। तर यसको मूलमर्म यो संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा अझै ओझेल परेको छ। मातृ प्रधान समाजमा यौनसम्बन्ध स्वच्छन्द थियो। एउटै माताका सन्तानहरूका बीच विवाह हुन्थ्यो तर मानव त नरपशु हो अर्थात् पशुमध्येको श्रेष्ठ पशु हो। यसको ढिलो भए पनि बुद्धि आउँछ सही मान्यता स्थापित तथा समृद्ध गर्छ। आफूले नै अञ्जानबस सुरु गरेका गलत संस्कृतिलाई संशोधन र परिमार्जन वा परित्याग पनि गर्छ। तर पशुमा भने त्यस खालको विवेक र बुद्धि कहिल्यै पलाउँदैन। त्यस मानेमा नरपशु वा मानव श्रेष्ठ हो र छ।
त्यसैले स्वच्छन्द यौन सम्बन्धको परिपाटीलाई परित्याग गरी थिति बसाल्ने क्रममा तिहारजस्ता पर्वहरू मानव जातिले सुरु गरेको स्पष्ट हुन्छ। सर्वप्राचीन ग्रन्थ ऋग्वेदमा यम यमी नाम गरेका जुम्ल्याहा दाजुबहिनीको संवाद छ। त्यहाँ दाजुसित तरुनी भएकी बहिनी यमीले यौन सम्बन्ध गाँस्ने प्रस्ताव राख्छिन् तर दाजुले तिमी यसका कामका लागि अर्कै पुरुष खोज अब आइन्दा यस्तो काम गर्नु हुँदैन भनेका छन्। त्यसैगरी उद्दालक ऋषिकी आमालाई बाबुकै अगाडि अर्को एक ऋषिले यौन चाहनापूर्ति गर्न तत्कालीन मान्यताअनुसार हात समाएर तान्न खोज्दा उद्दालक ऋषिले प्रतिवाद गर्दै गरेको देखिन्छ। ऋषिपुत्रले हरेक
नारीले आफ्नो सत्मा बस्नुपर्छ भनेको देखिन्छ।
संस्कृतिविद् डा. जगमान गुरुङले १८९६ सालमा मुख्तियार रंगलालले पश्चिम नेपालको भ्रमण गर्दा त्यहाँ जैसी बाहुनहरूमा भान्जी अर्थात् फुपूकी छोरीसित मामाका छोराहरूले विवाह गर्ने प्रचलनविरुद्ध रुक्का वा आदेशपत्र जारी गरेको उल्लेख गरेका छन्। यस्ता अवशेषहरू नेपालमा अझै पनि पाइन्छ। कुमाइ बाहुन समाजमा सगोत्री विवाहको प्रचलन रहेको बताइन्छ। दक्षिण भारतमा अझै पनि भान्जी विवाह अर्थात् मामा चेला र फुपूचेली दाम्पत्य सम्बन्ध गाँस्ने प्रचलन छ। नेपालका कतिपय जातिमा अहिले पनि मामा चेला फुपूचेला सम्बन्ध गाँस्ने परम्परा रहेको देखिन्छ। त्यसैले तिहारजस्ता पर्वहरू ऐतिहासिक अत्यन्त महत्वपूर्ण चाड हुन्। रामरमितो र पुनर्ताजगी प्राप्त गर्नु मात्र तिहार पर्वको विषय देखिन्न। चेली माइतीबीच एकअर्कामा आत्मीय र आदरपूर्ण सम्बन्ध कायम गर्ने पर्व सामाचखेवा र जितिया र चासोक तङनाम पर्व पनि हो।
चासोक माने न्वाँगी र तङ्नाम माने उत्सव अर्थात् चासोक तङ्नाम चाड तिहारसित मिल्दोजुल्दोरहेको छ। यस चाडमा पालाङ गाउँदै र धान नाच, नाचिन्छ। चेलीबेटीहरू कोसेली बोकेर माइत जान्छन् र नाता नपर्नेहरू मायाप्रीतिमा रमाउँछन् र हात समाई नाच्छन्। यो पर्व प्रत्येक वर्ष मंसिर १९, २० र २१ गते मनाइन्छ। अहिले पनि तिहारका अवसरमा यमराज वा धर्मराज बहिनी यमुनाका घरमा गएर टीका लगाएको प्रसंगमात्र उल्लेख गरिन्छ। जब कि जगमान गुरुङले यम भनेको नियम पनि हो। उहाँले बलीराजा भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा वलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरेको विषयसित जोड्नु भएको देखिन्छ। अनि तिनै राजाका समयमा देवी देवताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटाकेटीहरू देवदास वा देवदासीका रूपमा चिनिए। तिनलाई बली राजाले अबदेखि तिमीहरूले मागेर जीविका गर्नु भनेको विषयसित तिहारको देउसीभैलो प्रचलनामा आएको भनाइ छ।
बलीहाङ राजाको विषय पनि प्रमुख रूपमा चर्चामा रहेको पाइन्छ। एउटै तिहार पनि नेपालमा विभिन्न रूप र स्वरूपमा प्रचलित भएको देखिन्छ। यस्ता विषयमा गम्भीर खोज जरुरी हुन्छ। संस्कृतिविद्का नाममा कतिपयले गणेशको सुँडको मात्र बखान गरेर अब हुँदैन। तिहारमा गरिने काग, कुकुर, गाई, गोरु र गोवद्र्धन पर्वतको पूजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म, महŒव र उपादेयतालाई उजागर गरेको छ। मानव जातिले आफ्ना हक, हित, सुरक्षा र संवद्र्धन गर्ने सजीव वा निर्जीव प्रकृति, वस्तु र पदार्थलाई सम्मान गरेको देखिन्छ। अझ गाईको सर्वाधिक उपादेयतालाई प्रत्यक्ष महसुस गरेर पूजा गरेको हो भने कृषिकर्ममा गोरुको सर्वाधिक महत्वलाई गम्भीर रूपमा महसुस गरेर पूजा गरेको स्पष्ट हुन्छ।
चाडपर्वअन्तर्गत रहेका सर्वप्राचीन यथार्थ पक्ष र परम्परा बिर्सिएर यससम्बन्धी मौलिकता स्थापित हुँदैन। चाडपर्वमा समयक्रममा भित्रिएका अतिवादी धार्मिक र सांस्कृतिक सार पक्षहरू अवलम्बन गरेर पनि हुँदैन। तिनका प्रारम्भिक सुन्दर पक्षहरूको जगेर्ना गर्दै समय क्रममा तिनमा भित्रिएका नकार पक्षलाई हटाउँदै समयसापेक्ष रूपान्तरण गर्दै जानुपर्छ। संस्कृतिमा अन्तर्निहित सामन्तवादी संस्कृति सारजन्य कुप्रभावलाई अक्षरशः अनुसरण गरेर गणतन्त्र स्थपित र सुदृढ हुन सक्तैन।


