काठमाडौं । युगकवि सिद्धिचरण प्रतिष्ठानले विश्वभर रहेका नेपाली मूलका बालबालिकालाई लक्षित गर्दै अन्तरमहादेशीय वक्तृत्व कला प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। हालसम्म नेपालभित्र विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिष्ठानले अब कार्यक्रमलाई विश्वव्यापी बनाउने तयारी गरेको हो।
नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिसँग जोड्ने उद्देश्यले १८ वर्षसम्मका बालबालिकालाई प्रतियोगितामा सहभागी गराइनेछ। विशेषगरी विदेशमा हुर्कँदै गरेका नेपाली मूलका बालबालिकामा मातृभाषाप्रति आत्मीयता र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।
युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यका परिवर्तनकारी हस्ताक्षर हुन्। कविता, कथा, निबन्ध र यात्रा संस्मरणजस्ता विविध विधामा उहाँले उल्लेखनीय योगदान दिनुभएको थियो। जहानियाँ राणा शासनविरुद्ध उहाँका लेखनीले निर्भीक आवाज उठाएको थियो। उहाँ एक कुशल संगठकसमेत हुनुहुन्थ्यो। उहाँकै प्रेरणामा गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीजस्ता वीरहरूले परिवर्तनका लागि बलिदान दिएका थिए।
राणा शासकहरूले चेतनालाई दबाउन खोजे पनि साहित्यिक चेतनालाई कैद गर्न नसकिने तथ्य सिद्धिचरण श्रेष्ठले जेल जीवनमै प्रमाणित गर्नुभयो। कारावासमा रहँदा पनि उहाँले सिर्जना कार्यलाई निरन्तरता दिनुभएको थियो। उहाँका कृतिहरूले नेपाली समाजलाई जागरण र परिवर्तनतर्फ उन्मुख गराएका छन्।
प्रतिष्ठानका अनुसार प्रतियोगिता पहिलो चरणमा अमेरिका, क्यानडा र अष्ट्रेलिया महादेशमा आयोजना हुनेछ। त्यसपछि दोस्रो चरणमा अन्य महादेशहरूमा विस्तार गरिनेछ। अमेरिका र क्यानडामा रहेका अभिभावकलाई आफ्ना नानीबाबुलाई प्रतियोगितामा सहभागी गराउन प्रतिष्ठानले आह्वान गरेको छ।
यस प्रतियोगिताको संयोजन प्रतिष्ठानका डायस्पोराका लागि काव्यदूत सुरेन उप्रेतीले गर्ने जनाइएको छ। प्रतिष्ठानले यस कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्ना अग्रज साहित्यकारहरूको योगदानसँग परिचित गराउँदै नेपाली पहिचानलाई विश्वभर सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
सुरेन उप्रेती क्यानडा


