Friday, July 3, 2026
Homeसामाचारयातायात व्यवसायी र सरकारले बनाए वार्ता टोली, बन्द फिर्ता लिन आग्रह

यातायात व्यवसायी र सरकारले बनाए वार्ता टोली, बन्द फिर्ता लिन आग्रह

काठमाडौं: सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्न वार्ता तथा संवादमार्फत समाधान खोज्न सरकार सक्रिय बनेको छ। यसै सन्दर्भमा गृह मन्त्रालयले कार्यदल गठन गरेको छ।

सोमबार बिहान गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक र आन्दोलनरत व्यवसायीबीच भएको छलफलपछि कार्यदल गठन गरिएको हो। कार्यदलको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्त रहेका छन्।

गृह मन्त्रालयका अनुसार कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, अर्थ, तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिवहरू, ट्राफिक प्रहरी उपरीक्षक, र आन्दोलनरत व्यवसायी पक्षबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना प्रतिनिधि समावेश छन्। कार्यदलका सदस्य सचिव गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य रहेका छन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार, बैठकले समस्याको समाधान संवाद र वार्तामार्फत गर्ने सहमति जनाउँदै व्यवसायीहरूलाई बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गरेको छ।

छलफलमा गृहमन्त्री लेखकले सरकार व्यवसायीका मागप्रति गम्भीर रहेको बताए। उनले कतिपय विषय प्रदेश सरकारसँग जोडिएकाले आवश्यक समन्वयमा जोड दिने बताए।

कार्यदलका सदस्य सचिव रविन्द्र आचार्यले कार्यदलले वार्ता प्रक्रिया सुरु गरिसकेको जानकारी दिए। “आजैदेखि संवाद प्रक्रिया सुरु भइसकेको छ,” उनले भने।

छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका