काठमाडौं । भारतको मेघालय राज्यस्थित एक कोइलाखानीमा भएको विस्फोटमा खोटाङ बराहपोखरी गाउँपालिकाका एउटै घरका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ।
बिहीबार मेघालयको उम्साङघाटमा सञ्चालित कोइलाखानीमा भएको विस्फोटमा परेर बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगरको ज्यान गएको पुष्टि भएको छ।
उक्त घटनामा बराहपोखरी भञ्ज्याङका बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर तथा उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको बताइएको छ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त विस्फोटमा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।
यस घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्।


