मुस्ताङ । विश्वभर जलवायु परिवर्तनको प्रभाव चिन्ताको विषय बन्दै गए पनि नेपालका हिमाली जिल्लाहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यसको मारमा परिरहेका छन्।
हिमाली जिल्लाहरूमा वर्षेनी मौसमी तापक्रम वृद्धि भइरहेको छ। मुस्ताङमा पनि जलवायु परिवर्तनले वातावरणीय सन्तुलन र पारिस्थितिक प्रणालीमा ठूलो असर पुर्याइरहेको छ।
दश वर्षअघिसम्म हिउँदयामको अनुकूल समयमा यहाँ तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म डाँडाकाँडा र बस्ती सबै हिउँले ढाकिन्थे। पुस र माघ महिनामा तल्लो मुस्ताङमा दुई फिट र उपल्लो मुस्ताङमा पाँच फिटसम्म हिउँ परेको रेकर्ड छ।
२०७५ सालमा अत्यधिक हिउँ पर्दा उपल्लो मुस्ताङका सयौँ याकचौँरी, भेडाच्याङ्राहरू खर्क र गोठमै मरे। तल्लो मुस्ताङका केही खर्कहरूमा पनि दर्जनौँ याकचौँरी मरेका थिए। त्यसबेला गण्डकी प्रदेश सरकारले आंशिक राहत वितरण गरेको थियो।
हिउँ नपर्ने वा अत्यधिक हिमपात हुने अवस्था यहाँको बासिन्दाका लागि सदियौँको चुनौती बनेको छ। अत्यधिक चिसोले घरका सेफ्टी ट्याङ्की, धारा र सिँचाइ कुलो जमेर बरफ बन्ने समस्या समेत उत्पन्न भएको छ।
जलवायु परिवर्तनका कारण वर्षेनी हिमपातको मात्रा अनियमित भएको छ। कुनै वर्ष भारी हिमपात, केही वर्ष आंशिक, र केही वर्ष हिउँ नै नपर्ने अवस्था देखिएको छ। यसको असर मुस्ताङका शाखा नदीहरूमा पनि देखिन्छ। पग्लिएको हिउँ र हिमानी ढिस्काले ठूलो लेदो सहित बाढी आउँदा कागबेनी, थासाङ र अन्य बस्तीमा जनधनको क्षति भएको छ।
थासाङ क्षेत्रमा पटकपटक हिउँपहिरोले चरन क्षेत्र र केही बस्तीलाई जोखिममा पार्दै आएको छ। वर्षौँदेखिको परम्परागत पशुपालन प्रणाली प्रभावित भई चरन क्षेत्र खुम्चिँदै गएको छ। यसले पशु आहार व्यवस्थापनमा समस्या थपेको छ।
अत्यधिक तापक्रम वृद्धिका कारण स्याउलगायत शीतोष्ण फलफूल र तरकारी उत्पादन प्रभावित हुँदै गएको छ। बेमौसमी वर्षा र हिउँ नपर्ने अवस्थाले रोगकिरा संक्रमण बढाएको छ। यसै कारण उपल्लो मुस्ताङमा ‘स्याटलाइट’ कृषि फार्म स्थापनाको तयारी भइरहेको छ।
जलवायु परिवर्तनले संस्कृति, परम्परा र वातावरणीय क्षेत्रमा समेत असर पुर्याइरहेको छ। सदियौँ पुराना ढुङ्गा र माटोले बनेका घरहरू जोखिममा छन् भने पुराना सांस्कृतिक धरोहरहरू क्रमशः लोप हुँदैछन्।
जैविक विविधतामा समेत असर परेको छ। चरन क्षेत्रमा पर्याप्त घाँस नहुँदा हिउँचितुवा बस्ती नजिक आउन थालेका छन्, जसले मानव र पशुबीच द्वन्द्व बढाएको छ।
स्थानीय बासिन्दा र कृषकहरूले जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र चुनौतीहरूको अनुकूलनका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले भविष्यमा ठूलो जोखिमको सामना गर्न आवश्यक तयारीको माग गर्दै छन्।


