Tuesday, April 21, 2026
Homeकोरोना बिशेषमुस्ताङको सीमा क्षेत्रमा पुगेन कोरोना खोप

मुस्ताङको सीमा क्षेत्रमा पुगेन कोरोना खोप

जोमसोम: चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङका दुई स्थानीय तहमा कोरोना बिरुद्ध खोपको पहुँच पुग्न नसकेको स्थानीयहरु बताउँछन् ।

खोपको ब्यग्र पर्खाइमा बसेका सीमावर्ती क्षेत्रका बासिन्दा यतिबेला कहिले खोप आउला र लगाउन पाइएला भन्दै बसेका छन्।

हिमाली जिल्ला मुस्ताङमा गत श्राणण ३ गते  एकपटक मात्र लगाए पुग्ने अमेरिकन अनुदानको ६ हजार ५ सय डोज जोन्सन एण्ड जोन्सन खोप भित्रिएको थियो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङलाई जोन्सन एण्ड जोन्सन खोप पठाएको थियो ।

कोरोना कहरका कारण लामो समयदेखि पोखरा-जोमसोम हवाई सेवा संञ्चालन नभएको र बेनी—जोमसोम ७६ किमी सडकको म्याग्दी खण्डमा ठाउँठाउँमा बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदा मुस्ताङलाई उपलब्ध कोरोना बिरुद्धको खोप निकै कष्ठ गरी व्यक्तिलाई बोकाएर मुस्ताङसम्म ढुवानी गरिएको थियो ।

कालिगण्डकी करिडोरका सुपरभाइजर ईन्द्रसिंह शेरचनसहित केही मजदुरको सहायताबाट उक्त खोप जेनतेन मुस्ताङसम्म आइपुगेको थियो । अमेरिकन जोन्सन एण्ड जोन्सन ६ हजार ५ सय थान कोरोना बिरुद्धको खोप अहिले जिल्ला स्वाथ्य कार्यालय मुस्ताङमा राखिएको छ ।

मुस्ताङ भित्रिएको पाचौँ दिन पुग्दा समेत सरोकारवाला निकायले कोरोना बिरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यक्रम अघि बढाउन नसक्दा उपल्लो मुस्ताङस्थित सीमावर्ती क्षेत्रका बासिन्दा चिन्तित बनेका हुन् । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमीका झ्याम्पा गुरुङले कोरोनाको खोप लगाउने आशामा बसेका नागरिकलाई छिटोछरितो खोप उपलब्ध गराइनुपर्ने बताए ।

“मुस्ताङमा ६ हजार ५ सय खोप आइपुगेको भन्ने सुनिएको छ, तर यहाँ कुनै खोपको चालचुल छैन,” उनले थपे “आएको खोप जिल्लामा राखेर फाइदा हुँदैन, नागरिकलाई छिटो भन्दा छिटो खोप दिलाउदा बरु राम्रो हुन्छ ।” सीमावर्ती क्षेत्रका ५५ वर्षदेखि माथिका नागरिकले मात्र कोभिशिल्ड र भेरोशिल्ड खोप लगाए पनि अझै दुई तिहाइ नागरिकले खोप लगाउन बाँकी रहेको उनले बताए ।

मुस्ताङमा यसअघि कर्मचारी, जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकाय र ५५ वर्ष भन्दा माथि उमेर समूहकाले कोरोना बिरुद्धको पहिलो र दोश्रो डोज कोभिशिल्ड लगाइसकेका छन् । तर, शिक्षण संस्था, बैंक तथा बित्तिय संस्था, पर्यटन व्यवसायी, कृषक र सर्वसाधारण नागरिकले कोरोना बिरुद्धको खोप लगाउने अवसर नपाएको जनहित माविकी शिक्षिका प्रमिता थकालीले बताइन् । उनले जतिसक्दो छिटो/छरितो खोप उपलब्ध गराएर जनजीवन सहज बनाउन पहल गर्नुपर्ने बताइन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले १८ वर्षदेखि माथि उमेर समूह नागरिकलाई खोप लगाउने तथ्याङ्क संकलन गरिएको भए पनि सरकारको निर्देशनले जिल्ला आइपुगेको खोप नागरिकलाई लगाउन ढिलो भएको स्पष्ट पारे । उनले सरकारले ५० वर्षदेखि ५४ वर्ष उमेरका नागरिकलाई खोप लगाउन निर्देशन गरेकाले खोप कार्यक्रम रोकिन पुगेको जानकारी दिए ।

उनले मुस्ताङलाई उपलब्ध खोपले ९० प्रतिशत नागरिकलाई पुग्नसक्ने दावी गरे । उनले भने “प्राविधिक कारणले खोप कार्यक्रम ढिलो भएको हो, केही दिनभित्रै सबै पालिकामा खोप पुर्‍याउँछौँ।’

सीमित जनसंख्या रहेको हिमाली जिल्ला मुस्ताङमा अब करिव ६ हजारदेखि ७ हजार नागरिकले मात्र कोरोना बिरुद्धको खोप लगाउन बाँकी रहेको लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे ।उनले उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दमोदरकुण्डमा अब करिव १८ सय डोज कोरोना बिरुद्धको खोपले पुग्ने बताए ।उनले स्वास्थ्य कार्यालय मार्फत स्थानीय तहलाई खोप हस्तान्तरण भए २४ घण्टाभित्र उपल्लो मुस्ताङमा सबै नागरिकलाई खोप प्रदान गर्ने दावी गरे । उनले खोप लगाउने कार्यक्रम अझै ढिला भएमा कोरोना संक्रमण बढ्न सक्ने उल्लेख गरे । उनले मुस्ताङमा आईपुगेको खोप त्यसै थन्क्याएर राख्न नहुने सुझाए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका