‘मिस नेपाल युएस’ ले अमेरिकामा औपचारिक रुपमा ट्रेडमार्क प्राप्त गरेको छ । १० वर्षसम्मको प्रकृया र लडाइपछि मिस नेपाल युएसले औपचारिक ट्रेडमार्क प्राप्त गर्न सफल भएको हो । सन् २०१७ को अक्टोबरमा आवेदन दिएको प्रतियोगिताले अहिले अमेरिकी सरकारको ट्रेडमार्क अफिसबाट औपचारिक रुपमा ट्रेडमार्क पाउन सफल भएको हो । सौन्दर्य प्रतियोगिताको प्रकृतिमा मनोरञ्जन मुलक श्रेणी ४१ मा ‘मिस नेपाल युएस’ ले ट्रेडमार्क प्राप्त गरेको छ । पहिलो पटक सन् २०११ को जुनमा प्रयोग भएको र अगस्तमा व्यवसायिक रुपमा प्रयोग भएको इतिहाससहित ट्रेडमार्क प्रमाणपत्र प्रदान गरिएको हो ।
मिस नेपाल युएसएका नाममा सन् २०११ मा ट्रेडमार्क लिन प्रयास गरिए पनि मिस युसएएले दावी गरेका कारण उक्त प्रयास सफल हुन सकेको थिएन । तर पछि मिस युएसएले ‘ए’ अक्षर हटाएर मिस नेपाल युएसमात्र कायम हुने गरी ट्रेडमार्कका लागि सहमति दिएको थियो । त्यसपछि सन् २०१२ को फ्रब्रुअरीमा मिस नेपाल युएसमात्र रहने गरी ट्रेडमार्क दर्ताको प्रयास भएपनि सफल हुन सकेको थिए ।
अमेरिकामा नेपालीहरु सम्बन्धित सौन्दर्य प्रतियोगिता गर्न ट्रेडमार्क पाउने यो पहिलो प्रतियोगिता हो । यसको नयाँ संस्करण १० औं वार्षिकोत्सवको अवसर पारेर सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा आयोजना हुँदैछ ।


