Friday, June 19, 2026
Homeसामाचारमानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित

मानव तस्करीको आरोप लागेका निवर्तमान मन्त्री अधिकारी एमालेबाट निलम्बित

विराटनगर: नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ। पार्टीको अनुमतिबिना जापान भ्रमण गरेका अधिकारीमाथि थप अनुसन्धानको आवश्यकता रहेको भन्दै नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासोका साथ उनलाई निलम्बन गर्ने निर्णय लिएको हो।

प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र एमालेको सांगठनिक सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका छन्। उनले अधिकारीमाथि लागेको आरोपको अन्तिम निर्णय नभएसम्म उनलाई पार्टीमा कुनै जिम्मेवारी नदिइने बताए।

बुधबार मन्त्री अधिकारीले बढ्दो आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका थिए। उनले प्रदेश सरकार र पार्टीको स्वीकृति नलिई जापान भ्रमणमा गएपछि उनीमाथि मानव तस्करीको आरोपमा प्रहरीले अनुसन्धान गर्ने तयारी गरिरहेको थियो, जसका कारण पार्टीले निलम्बन गरेको हो।

मन्त्री अधिकारीमाथि पदको दुरुपयोग गरी गैरकानूनी रूपमा मानिसहरूलाई जापान पठाउन खोजेको आरोप छ। अधिकारीसँगै जापान पुगेका खोटाङका दावा शेर्पा, जनक राई, र रसुवाका कञ्चन देवकोटालाई जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो।

पक्राउ परेकाहरूको बयानका आधारमा अनुसन्धान गर्दा, अधिकारीले मन्त्रालयको नक्कली परिचय पत्र बनाएर ती व्यक्तिहरूलाई जापान लैजाने प्रयास गरेको पुष्टि भएको छ। बरामद नक्कली कार्डहरूमा निमित्त कार्यालय प्रमुखका रूपमा मन्त्री अधिकारीकै हस्ताक्षर रहेको उल्लेख छ।

यस घटनासँग सम्बन्धित अन्य तीन व्यक्तिहरूलाई पनि मानव तस्करी अभियोगमा पक्राउ गरिएको छ, जसमा जुगल रिजाल, वीरबहादुर सुनुवार, र महेश पाण्डे रहेका छन्। प्राप्त प्रमाणका आधारमा प्रहरीले मन्त्री अधिकारीलाई आर्थिक लाभको उद्देश्यले यो योजना बनाएको ठहर गर्दै अनुसन्धानको दायरामा ल्याउन तयारी गरिरहेको छ।

एमाले कोशी प्रदेशले अधिकारीको यो कार्यलाई गम्भीर रूपमा लिएर पार्टीका सैद्धान्तिक र अनुशासनात्मक मापदण्डविपरीत भएको ठहर गरेको छ। पार्टीले अधिकारीलाई निलम्बन गर्दै घटनाको पूर्ण छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका