Sunday, July 26, 2026
Homeसामाचारमाइतीघर डुबानको कारण सार्वजनिक: इन्जिनियरिङ त्रुटि, अतिक्रमण र कंक्रिटीकरण मुख्य दोषी

माइतीघर डुबानको कारण सार्वजनिक: इन्जिनियरिङ त्रुटि, अतिक्रमण र कंक्रिटीकरण मुख्य दोषी

काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण ढल निकास प्रणालीमा रहेको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण र प्राकृतिक जलशोषक क्षेत्रको विनाश रहेको निष्कर्षसहितको प्राविधिक प्रतिवेदन सार्वजनिक भएको छ।

साउन ५ गते वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधिसहित स्थलगत अनुगमन गरिएको थियो। त्यसपछि कार्यवाहक प्रमुख डंगोलले संयुक्त प्राविधिक टोलीलाई विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिएकी थिइन्।

उक्त निर्देशनअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो। समितिमा काठमाडौं महानगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन रेग्मी, सडक विभागका इञ्जिनियर पुरुषोत्तम भण्डारी तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक उज्ज्वल श्रेष्ठ सदस्य थिए।

प्रतिवेदनमा माइतीघरको ढल निकास प्रणालीमा गम्भीर इन्जिनियरिङ त्रुटि रहेको उल्लेख गरिएको छ। माइतीघर क्षेत्रमा माथिल्लो भागबाट आउने ९० सेन्टिमिटर व्यासको ढल तल्लो भागमा पुग्दा ६० सेन्टिमिटरमा साँघुरिने भएकाले पानीको बहाव अवरुद्ध हुने र ‘बोटलनेकिङ’ (Bottlenecking) समस्या उत्पन्न भई सडक जलमग्न हुने गरेको निष्कर्ष निकालिएको छ।

त्यसैगरी, टुकुचा खोलाको सतह बढेका बेला ढलको पानी खोलातर्फ जानुको सट्टा उल्टै सडक र बस्तीमा फर्कने (ब्याक फ्लो) समस्याले पनि माइतीघरमा डुबानको जोखिम बढाएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले वातावरणीय तथा सहरी विकाससँग सम्बन्धित कारणहरूलाई पनि डुबानको प्रमुख कारक मानेको छ। विगतमा माइतीघर चोक आसपास रहेका खुला क्षेत्रहरूले प्राकृतिक जलशोषक (Natural Recharge Area) को काम गर्दै वर्षाको पानी जमिनमा सोस्ने गर्थे। तर, हाल ती क्षेत्रमा जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला सरकारी वकिलको कार्यालयलगायतका संरचना निर्माण भई जमिन कंक्रिटले ढाकिएकाले पानी सोसिने प्राकृतिक प्रक्रिया अवरुद्ध भएको र सतहमा बग्ने पानीको मात्रा बढेर माइतीघर क्षेत्रमा जम्मा हुने गरेको प्रतिवेदनको निष्कर्ष छ।

यसका साथै, ढलमाथि भएका अतिक्रमण र नियमित सरसफाइमा आएको अवरोधले पनि समस्या जटिल बनाएको प्रतिवेदनमा उल्लेख छ। कतिपय स्थानमा व्यक्तिगत तथा सरकारी संरचना ढलमाथि निर्माण गरिएकाले मर्मत तथा सरसफाइ गर्न कठिन भएको र ढलभित्र प्लास्टिकजन्य फोहोर, बोतल तथा ढुङ्गा–गिट्टी थुप्रिँदा पानीको बहाव थप अवरुद्ध हुने गरेको प्रतिवेदनले औंल्याएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका