काठमाडौं। महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान भएको विमान दुर्घटनामा निधन भएको छ। भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो।
मुम्बईबाट बारामतीतर्फ उडेको उक्त चार्टर्ड विमान बारामती विमानस्थलको रनवे थ्रेसहोल्ड नजिक क्र्यास–ल्याण्डिङ भएको जनाइएको छ। दुर्घटनामा अजित पवारसँगै एक निजी सुरक्षा अधिकृत (पीएसओ), एक परिचारक तथा दुई जना चालकदल सदस्य सवार थिए। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको अधिकारीहरूले जनाएका छन्।
अजित पवार जिल्ला परिषद् निर्वाचनका लागि आयोजना गरिएको सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए। यसअघि मंगलबार उनी मुम्बईमा मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र क्याबिनेट समिति (पूर्वाधार) को बैठकमा सहभागी भएका थिए। उक्त बैठकमा मन्त्री चन्द्रशेखर बावनकुलेसहित अन्य उच्च अधिकारीहरूको पनि उपस्थिति थियो।
अजित पवार गैर–लगातार रूपमा महाराष्ट्रका सबैभन्दा लामो समय सेवा गर्ने उपमुख्यमन्त्रीका रूपमा परिचित थिए। उनले विभिन्न सरकारहरूमा छ कार्यकाल उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ शिन्देको मन्त्रिपरिषद्मा उनले उपमुख्यमन्त्रीका रूपमा काम गरेका थिए।
उनको विवाह सुनेत्रा पवारसँग भएको थियो। उनका दुई छोरा जय पवार र पार्थ पवार छन्।
अजित पवारले सन् १९८२ मा सहकारी चिनी कारखानाको सञ्चालक समितिमा निर्वाचित भएसँगै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। सन् १९९१ मा उनी पुणे जिल्ला केन्द्रीय सहकारी बैंकको अध्यक्ष बने। सोही वर्ष बारामती संसदीय क्षेत्रबाट पहिलो पटक लोकसभा सदस्य निर्वाचित भएका उनले पछि उक्त सिट आफ्ना काका शरद पवारका लागि खाली गरेका थिए।
अजित पवार बारामती विधानसभा क्षेत्रबाट सात पटक महाराष्ट्र विधानसभामा निर्वाचित भएका थिए। उनले १९९१ को उपनिर्वाचनपछि १९९५, १९९९, २००४, २००९ र २०१४ मा लगातार विजय हासिल गरेका थिए। नोभेम्बर २०१९ मा एनसीपीमा विभाजन गराउँदै उनी भारतीय जनता पार्टी नेतृत्वको सरकारमा सहभागी भई उपमुख्यमन्त्री बनेका थिए। सन् २०२४ को फेब्रुअरीमा निर्वाचन आयोगले अजित पवार नेतृत्वको समूहलाई पार्टीको नाम र चुनाव चिन्ह प्रदान गरेको थियो। (एएनआई)


