काठमाडौं । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले कृषि, सुरक्षा, खेलकुद, नागरिक उड्डयन तथा मिटरब्याज पीडितसँग सम्बन्धित पाँच महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले बैठकका निर्णय सार्वजनिक गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावअनुसार ‘बिउ विजन (पहिलो संशोधन) नियमावली, २०८१’ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले विपद् खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरी बल (एपीएफ) का कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। विपद्का बेला जिउधनको रक्षामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउन यस्तो व्यवस्था गरिएको सरकारको भनाइ छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले नेपाल वायुसेवा निगमको सञ्चालक समितिको अध्यक्षमा महेश्वर भक्त श्रेष्ठलाई नियुक्त गरेको छ। उनलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत दिइएको छ।
यसका साथै, मिटरब्याज (अनुचित लेनदेन) पीडितको समस्या समाधानका लागि यसअघि गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।


