Saturday, May 9, 2026
Homeराजनीतिमधेसका चार जिल्लामा गगन थापाको चुनावी दौड, उपसभापति शर्माको तीन जिल्ला भ्रमण

मधेसका चार जिल्लामा गगन थापाको चुनावी दौड, उपसभापति शर्माको तीन जिल्ला भ्रमण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले शनिबार मधेस प्रदेशका चार जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सचिवालयका अनुसार थापाले सर्लाहीको लालबन्दी, रौतहट, बारा हुँदै पर्साको वीरगञ्जमा आयोजित सभामा सम्बोधन गर्नेछन्। यस क्रममा उनी विभिन्न स्थानमा रोड शोमा पनि सहभागी हुनेछन्।

सभापति थापाले आइतबार (फागुन १७) काठमाडौँ उपत्यकामा हुने चुनावी कार्यक्रममा पनि सम्बोधन गर्नेछन्। यसअघि उनले फागुन ६ गते जनकपुरधाममा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए भने फागुन ७ गते काठमाडौँस्थित राष्ट्रिय सभागृहमा प्रतिज्ञापत्रमाथि उठेका प्रश्नको जवाफ दिएका थिए।

गत बिहीबार थापाले सुर्खेत र बाँकेका सभालाई सम्बोधन गरेका थिए भने शुक्रबार रुपन्देही, कपिलवस्तु, बाग्लुङ र कास्कीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए। बुटवलको सभामा उपसभापति पुष्पा भुसाल सहभागी थिइन् भने पोखराको कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा उपस्थित थिए।

यसैबीच, उपसभापति विश्वप्रकाश शर्मा शनिबार तीन जिल्लाको भ्रमणमा रहनेछन्। पोखराबाट कार्यक्रम सुरु गरेका उनले गुल्मीको छत्रदेव, डोल्पाको जुफाल तथा अछामको साँफेबगर र कमलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। साँझ उनी काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका