काठमाडौं : विगतमा वर्षाले हिमाली र पहाडी क्षेत्रमा ठूलो क्षति गरेको छ। वर्षापछिको बाढी, पहिराले सिन्धुपाल्चोक, मनाङलगायत दुई दर्जन बढी जिल्ला प्रभावित पारेका छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार नेपालमा मनसुन भित्रिएपछि आजसम्म बाढी पहिराले ९४ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता भएका छन् ।
नेपालमा जेठ २८ मा मनसुन भित्रिएको थियो भने जेठ ३० गते देशैभर फैलिएको थियो मनसुन असोजको मध्यबाट हट्ने छ ।
मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो। विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो । यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ। त्यसकारण हजारौँ घर डुबानमा परेको छ । अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्यांक छ।
विभिन्न जिल्लामा पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण ९ जनाको मृत्यु भइसकेको छ । अन्य छ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता आर्यालले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज र सोमबार पनि वर्षा जारी रहने तर मङ्गलबारबाट भने विस्तारै खुल्दै जाने जानकारी दिएको छ। यद्यपि वर्षा केही घट्दो क्रममा नै रहेको मौसमविद्को भनाइ छ ।
मौसमविद् समीर श्रेष्ठले आज पनि वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जानकारी दिए । उनले आज राति पनि नेपालको पश्चिम क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए । गण्डकी लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिममा समेत पानी पर्नेछ ।
साना खोलामा भने बाढी बढ्नसक्ने र ठूला नदीमा घट्टो क्रममा रहेको जनाइएको छ । जमिन गलिसकेकाले थोरै पानी पर्दा पनि जोखिम बढ्नसक्नेतर्फ सचेत हुन अनुरोध गरिएको छ । स्याटलाइट तस्बिरको विष्लेषण गरी पश्चिम क्षेत्रको बाढी अवस्था हेर्दा झण्डै ९५ हजार मानिस बाढीबाट प्रभावित हुने अनुमान गरिएको छ ।
मौसमविद् राजु प्रधानाङ्गले पानी पार्ने न्यूनचापीय रेखा तल झर्न थालिसकेको जानकारी दिए । मंगलबार भने पूर्वतर्फ प्रभाव पार्ने उनले बताए ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यस वर्ष मनसुनको आधा समय पार गरेर आउँदा विगतमा शताब्दीभर नभोगेका घटना बेहोर्नुपरेको बताए ।


