काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार भएको द्विपक्षीय भेटवार्तामा गत २६ अगस्टमा भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका गणतन्त्र कोरियाका नागरिकको खोज तथा उद्धार कार्यबारे पनि गम्भीर छलफल भएको थियो।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरिया डिजास्टर रिलिफ टिम पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गरे।
उनले बाढीपीडितका लागि कोरिया सरकारबाट उपलब्ध गराइएको मानवीय सहायता तथा राहत सामग्रीप्रति पनि धन्यवाद व्यक्त गरे।
विपद्पछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपद्बाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण गरिने बताए। ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार पुनर्निर्माण अघि बढाइने उल्लेख गर्दै उनले यस कार्यमा कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।
भेटवार्तामा कोरियाका परराष्ट्रमन्त्री छो ह्युनले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनाका प्रयासमा आफ्नो सरकारले आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताए।
जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेको जनधन तथा पूर्वाधारको क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायको ऐतिहासिक जिम्मेवारी रहेको उल्लेख गर्दै मन्त्री छोले जलवायु परिवर्तनका असर र त्यसबाट सिर्जित विपद्का विषयमा विश्व समुदायलाई थप संवेदनशील बनाउन नेपाल र कोरियाले सहकार्य गर्नुपर्नेमा जोड दिए।
उनले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरे।
साथै, जलवायु परिवर्तनबाट भएको क्षतिका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त गर्नुपर्ने वित्तीय सहयोगका विषयमा कोरियाले पनि आफ्नो तर्फबाट आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले नेपाल र गणतन्त्र कोरियाबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक विश्वास, समझदारी र सहकार्यलाई अझ सुदृढ र व्यापक बनाउँदै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निकट सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।


