Friday, September 4, 2026
Homeसामाचारभोटेकोशी बाढी : मृतकको संख्या १ हजार २९५ पुग्यो, ४ हजार ८९८...

भोटेकोशी बाढी : मृतकको संख्या १ हजार २९५ पुग्यो, ४ हजार ८९८ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय क्षति भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार दिउँसोसम्म विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय क्षेत्रबाट गरी १ हजार २९५ जनाको शव फेला परेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२१ र नवलपरासी पश्चिममा १९४ वटा रहेका छन्। भारतबाट प्राप्त १८ वटा शव नवलपरासी पश्चिममा बुझाइएको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा काठमाडौंस्थित टिचिङ अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

२ हजार १०६ वटा डीएनए नमुना संकलन

फेला परेका शवको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनलाई तीव्र बनाएको छ। हालसम्म मृतकका १ हजार २६० र आफन्तका ८४६ गरी २ हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ।

प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरुष र पहिचान नखुलेका ४५३ गरी कुल १ हजार ३० वटा शवको व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

अझै पहिचान हुन नसकेका १ हजार २६३ शवको विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ।

४ हजार ८९८ जना अझै बेपत्ता

बाढीमा परी अझै ४ हजार ८९८ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

विपद्को यस घडीमा प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९१२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

३ हजार ६५५ जना होल्डिङ सेन्टरमा

प्रभावित जिल्लामा सञ्चालन गरिएका होल्डिङ सेन्टरमा हाल ३ हजार ६५५ जनालाई आश्रय दिइएको छ।

प्रहरीले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार गर्ने र बाढीका कारण अवरुद्ध भएका सडक खुलाउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।

विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी, शव पहिचान तथा व्यवस्थापन र प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका