Wednesday, July 22, 2026
Homeसामाचारभेरी करिडोर निर्माण सुस्त, ठेकेदारको लापरबाहीले सडक र पुल वर्षौंदेखि अलपत्र

भेरी करिडोर निर्माण सुस्त, ठेकेदारको लापरबाहीले सडक र पुल वर्षौंदेखि अलपत्र

सुर्खेत । नेपाललाई चीन र भारतसँग जोड्ने रणनीतिक महत्वको भेरी करिडोर निर्माण कार्य ठेकेदार कम्पनीहरूको ढिलासुस्तीका कारण प्रभावित बनेको छ। जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरदेखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्मको सडक तथा विभिन्न पुल निर्माणको काम लामो समयदेखि अलपत्र परेपछि स्थानीयवासीले असन्तुष्टि जनाएका छन्।

भेरी करिडोरअन्तर्गत तल्लुबगर–त्रिवेणी सडक खण्ड निर्माणको जिम्मा पाएको क्याब कन्स्ट्रक्सनले २०८२ असोजमा ८८ करोड ६२ लाख रुपैयाँमा सम्झौता गरे पनि हाल काम ठप्प छ। कम्पनीका अनुसार इन्धनको मूल्यवृद्धि र क्रसर मेसिन ढुवानीमा समस्या हुँदा निर्माण प्रभावित भएको हो।

यस्तै, त्रिवेणी–त्रिपुराकोट खण्डको ८५ करोड रुपैयाँको ठेक्का पाएको मैनाचुली–सिस्ने जेभीले सम्झौता भएको झन्डै एक वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य सुरु गरेको छैन। कम्पनीले छिट्टै साइट कार्यालय स्थापना गरी काम अघि बढाउने जनाएको भए पनि निर्माणस्थलमा कुनै गतिविधि देखिएको छैन।

भेरी करिडोर आयोजना कार्यालयका प्रमुख नरेश केसरीका अनुसार निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन। विसं २०७५ मा सडकको ट्र्याक खुले पनि स्तरोन्नतिको काम अझै अनिश्चित बनेको छ।

छ वर्षदेखि अधुरै पुल निर्माण

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा निर्माणाधीन धेरै पुल वर्षौंदेखि अधुरै छन्। विशेषगरी नलगाड, झुर्मेखोला, त्रात्रखोला, मैदेखोला र ताक्सुगाडलगायतका पुल निर्माणको ठेक्का २०७७ सालमै सम्झौता भए पनि अधिकांश संरचना अझै पूरा भएका छैनन्।

त्यस्तै, नलगाडको कालीमाटीदेखि छलगाडसम्मका १४ साना–ठूला पुलमध्ये ११ वटाको चालु आर्थिक वर्षमा ठेक्का लगाइएको छ भने बाँकी पुलको डिजाइन अन्तिम चरणमा रहेको आयोजना कार्यालयले जनाएको छ। खदाङको पुल भने विवादका कारण अझै निर्माण सुरु हुन सकेको छैन।

रणनीतिक महत्वको आयोजना

करिब ३१० किलोमिटर लामो भेरी करिडोर सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पाको मरिमसम्म पुग्ने राष्ट्रिय गौरवको सडक आयोजना हो। यो मार्ग भारत, नेपाल र चीन जोड्ने सबैभन्दा छोटो सडक सञ्जालका रूपमा हेरिएको छ।

हाल नेपालगञ्ज, सुर्खेत र काठमाडौंबाट डोल्पाको सदरमुकाम दुनैसम्म सवारीसाधन पुग्न थाले पनि माथिल्लो डोल्पाका उत्तरी सीमावर्ती तीन गाउँपालिकाका नागरिकले अझै सडक सुविधाको अभावमा सदरमुकाम पुग्न एक सातासम्म पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ।

स्थानीयवासी तथा सरोकारवालाले निर्माण कार्यलाई तीव्रता दिई भेरी करिडोरलाई समयमै सम्पन्न गर्न सरकार र निर्माण कम्पनी दुवैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका