काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीको वैशाख २८ गतेका लागि तय गरिएको नेपाल भ्रमण स्थगित भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आउने तयारीमा रहेका मिस्रीले अन्तिम समयमा आफ्नो भ्रमण स्थगित गरेको बताइएको छ। यद्यपि, नेपाल र भारत दुवै सरकारले भ्रमणबारे औपचारिक घोषणा भने गरेका थिएनन्।
गत चैतमा मरिससमा भारतका विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भएको भेटपछि मिस्रीको नेपाल भ्रमणबारे चर्चा सुरु भएको थियो। त्यसपछि स्वयं मिस्री तथा भारतका लागि निवर्तमान नेपाली राजदूत डा. शंकर शर्माले पनि उनको नेपाल भ्रमणबारे संकेत गरेका थिए। भारतीय सञ्चारमाध्यमहरूले समेत मे ११ मा मिस्री नेपाल आउने जनाएका थिए।
नेपालको परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी नदिए पनि नियमित पत्रकार सम्मेलनमार्फत चाँडै भ्रमण हुने संकेत गरेको थियो।
भ्रमण स्थगित हुनुको कारण नेपाल–भारत सीमा विवाद, विशेषगरी लिपुलेक विषयलाई मानिएको छ। स्रोतहरूका अनुसार लिपुलेकबारे दुवै देशले आफ्नो अडान कायम राखिरहेका बेला सचिवस्तरीय भ्रमण उपयुक्त नहुने निष्कर्ष निकालिएको हो।
हाल नेपालमा लिपुलेकको विषयलाई लिएर विरोधका स्वर उठिरहेका बेला यस्तो अवस्थामा भ्रमणले नकारात्मक सन्देश दिन सक्ने आकलन गरिएको बताइएको छ।
भारतको समाचार संस्था एएनआईका अनुसार मिस्री दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आउने तयारीमा थिए, तर अन्तिम समयमा भ्रमण रद्द गरिएको हो।
यता, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षत्रीले भने भ्रमण स्थगित हुनु र सीमा विवादबीच कुनै सम्बन्ध नरहेको बताएका छन्। उनले नेपाल–भारत सम्बन्ध निकट रहेको र एउटा विषयले दुई देशबीचको समग्र सम्बन्धमा असर नपार्ने प्रतिक्रिया दिएका छन्।
पूर्वराजदूत नीलाम्बर आचार्यले भ्रमण स्थगित हुनु राम्रो संकेत नभएको बताएका छन्। उनले नेपाल–भारत सम्बन्धलाई निरन्तर संवाद र भेटघाटमार्फत सुदृढ बनाउनुपर्ने धारणा राखेका छन्।
अन्तर्राष्ट्रिय मामिलाका जानकार टीका ढकालले पनि विदेश सचिवस्तरीय भ्रमण रोक्नु उपयुक्त नभएको टिप्पणी गरेका छन्। उनले उच्चस्तरीय कूटनीतिक भेटघाटलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्।
हालका लागि भ्रमण स्थगित भए पनि नेपाल–भारतबीच उपयुक्त समयमा उच्चस्तरीय भ्रमण हुने तयारी जारी रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।


