काठमाडौँ: भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याणमन्त्री शिवराज सिंह चौहान तेस्रो बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक (बिएएमएम)मा भाग लिन नेपाल भ्रमणमा आउनुभएको छ। काठमाडौँमा आयोजित बैठकमा सहभागी हुन उहाँ मङ्गलबार नेपाल आउनुभएको हो।
भ्रमणका क्रममा मन्त्री चौहानले नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ। उहाँले तेस्रो बिएएमएम सफलतापूर्वक सम्पन्न गरेकामा नेपाली समकक्षीलाई बधाई दिँदै कृषि क्षेत्रका द्विपक्षीय पहल र विकास परियोजनाको समीक्षा गर्नुका साथै भविष्यमा थप सहकार्यको सम्भावनाबारे छलफल गर्नुभएको कृषि मन्त्रालयले जनाएको छ।
यसै क्रममा, दुई मन्त्रीबीच कृषि क्षेत्रमा सहकार्यसम्बन्धी नयाँ समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताले सन् १९९१ (२०४८ साल मङ्सिर २० गते) मा भएको पुरानो सम्झौतालाई प्रतिस्थापन गर्दै कृषि विज्ञान तथा प्रविधि, उत्पादन वृद्धि, बाली तथा बागवानी प्रवर्द्धन, बजार पहुँच, जैविक खेती, लघु सिँचाइ, प्राकृतिक स्रोत व्यवस्थापन, जलवायु अनुकूलता र दिगो कृषि लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ।
भारतीय मन्त्री चौहानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता पनि गर्नुभयो। भेटमा उहाँहरूले नेपाल–भारतबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धका विविध पक्षबारे कुराकानी गर्नुका साथै कृषि क्षेत्रमा आपसी सहकार्य थप सुदृढ पार्ने उपायबारे छलफल गर्नुभएको थियो।
बिएएमएम क्षेत्रीय कृषि सहकार्यमा निर्णय गर्ने उच्च तहको संयन्त्र हो। पहिलो बिएएमएम सन् २०१९ (२०७६ असार २७) मा म्यान्मारमा, दोस्रो सन् २०२२ (२०७९ कात्तिक २४) मा भारतमा भएको थियो। यसपटकको तेस्रो बैठक काठमाडौँमा सम्पन्न भएको हो। बैठकमा बिम्स्टेक सदस्य राष्ट्रबीच कृषि, मत्स्यपालन र पशुपालन क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उपायहरूमा छलफल भएको छ।
बङ्गालको खाडी क्षेत्रको क्षेत्रीय विकास, सम्पर्क विस्तार र आर्थिक समुन्नतिको प्रवर्द्धनमा बिम्स्टेक पछिल्ला वर्षहरूमा महत्वपूर्ण मञ्चका रूपमा उदाएको छ। ‘कृषि र खाद्य सुरक्षा’ बिम्स्टेकको प्रमुख सहकार्य क्षेत्रहरूमध्ये एक हो।


