Wednesday, September 16, 2026
Homeसामाचारभारतमा पक्राउ परेका सर्लाहीका किसानको रिहाइका लागि कांग्रेसको सरकारसँग तत्काल पहल गर्न...

भारतमा पक्राउ परेका सर्लाहीका किसानको रिहाइका लागि कांग्रेसको सरकारसँग तत्काल पहल गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले नेपालमा समयमै रासायनिक मल उपलब्ध नहुँदा भारतबाट मल खरिद गर्न गएका सर्लाहीका दुई नेपाली किसान भारतीय जेलमा परेको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ।

सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले ती किसानहरूको शीघ्र रिहाइ तथा समस्या समाधानका लागि सरकारले कूटनीतिक, कानुनी र व्यावहारिक माध्यमबाट तत्काल पहल गर्न माग गरेको हो।

सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह आफ्नै खेतमा प्रयोग गर्ने उद्देश्यले भारतको सीमावर्ती बजार सोनवरसाबाट युरिया र डीएपी मल खरिद गरी नेपाल फर्किने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको जनाएको छ। उनीहरू विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा रहेका छन्।

कांग्रेसले ती किसानहरू कुनै व्यावसायिक प्रयोजनका लागि नभई आफ्नै खेतीका लागि मल ल्याउन गएको उल्लेख गर्दै उनीहरूलाई तस्करका रूपमा नहेर्न आग्रह गरेको छ।

साथै, कांग्रेसले भारत सरकारसँग नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र जनस्तरको आत्मीय सम्बन्धलाई ध्यानमा राखी पक्राउ परेका किसानलाई यथाशीघ्र रिहा गर्न तथा आवश्यक कानुनी सहजीकरण गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका