काठमाडौं: भारतको ओडिशा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजीको होस्टेलमा एक नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि कलेज प्रशासनले विवादास्पद निर्णय लिएको छ। कलेजले विश्वविद्यालयलाई नेपाली विद्यार्थीका लागि स्थायी रूपमा बन्द गरेको घोषणा गर्दै, सबै नेपाली विद्यार्थीलाई घर फर्कन लिखित निर्देशन दिएको छ।
आइतबार साँझ कलेजको होस्टेलमा नेपालकी प्रकृति लम्सालको शंकास्पद अवस्थामा मृत्यु भएको थियो। उनी बीटेक तेस्रो वर्षकी विद्यार्थी थिइन्। उनका साथीहरूको आरोप अनुसार, मेकानिकल इन्जिनियरिङका विद्यार्थी अद्विक श्रीवास्तवले उनको शोषण गरेका थिए। तीन वर्षदेखि प्रेमको नाममा शोषण गरेका अद्विकले अचानक जागिर पाएपछि उनीलाई छोडेर अर्कै शहर जान खोजेपछि प्रकृतिले अप्रिय निर्णय गरेको विद्यार्थीहरूको भनाइ छ।
विश्वविद्यालय प्रशासनले आइतबार जारी गरेको सूचना अनुसार, कलेजले नेपाली विद्यार्थीहरूको लागि विश्वविद्यालय स्थायी रूपमा बन्द गरिएको र सबै नेपाली विद्यार्थीलाई घर जान निर्देशन दिएको छ। ओडिशा टिभीका अनुसार, कलेजले मेकानिकल इन्जिनियरिङका विद्यार्थीहरूसहित सबै नेपाली विद्यार्थीलाई बसमा चढेर कटक रेलवे स्टेशन जान निर्देशन दिएको छ। उनीहरुलाई बिना टिकट र सबै सामान नलिइ घर जान आदेश दिइएको छ, जसका कारण विद्यार्थीहरू प्रदर्शन गरिरहेका छन्।
एक विद्यार्थीले ओडिशा टिभीसँग भने, “हामीलाई कुनै ट्रेन टिकट वा अन्य जानकारी दिइएको छैन। हामीलाई जबरजस्ती बसमा चढाइएको र कटक पठाइएका छौं, र जतिसक्दो चाँडो घर जान भनिएको छ।” विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनमाथि घटना दबाउन र प्रमाण लुकाउन खोज्ने आरोप लगाएका छन्।
केही विद्यार्थीहरूले आरोप गरेअनुसार, प्रकृतिले मृत्युपूर्व आफ्नो पूर्वप्रेमी अद्विक श्रीवास्तवको शोषणबारे विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उजुरी दिइन्, तर विश्वविद्यालय प्रशासनले यो विषयलाई दबाउन प्रयास गरेको आरोप छ।
प्रदर्शनकारी विद्यार्थीहरूको भनाइ छ, “विश्वविद्यालय प्रशासनले सत्य लुकाउन प्रयास गरिरहेको छ। उनीहरूले प्रकृतिको शव फिर्ता नगरी प्रमाण लुकाउने काम गरिरहेका छन्।” विद्यार्थीहरूले सामाजिक संजाल मार्फत विश्वविद्यालय परिसरमा प्रदर्शनको आह्वान गर्दै सहयोगका लागि आग्रह गरेका छन्।
हाल, विश्वविद्यालय प्रशासनले यी आरोपहरूको बारेमा कुनै प्रतिक्रिया दिएको छैन, र प्रदर्शनकारीलाई दबाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।


