काठमाडौं। बेलायतकी पूर्व मन्त्री तथा लेबर पार्टीकी सांसद टुलिप सिद्दिकलाई बंगलादेशको अदालतले भ्रष्टाचार आरोपमा चार वर्षको जेल सजाय सुनाएको छ। लेबर पार्टीले भने यो प्रक्रिया अन्यायपूर्ण र निष्पक्ष कानुनी मान्यताविपरीत भएको भन्दै कडा आलोचना गरेको छ।
अदालतले सिद्दिककी काकी तथा पदच्युत प्रधानमन्त्री शेख हसिना र उनका अन्य दुई परिवारजनलाई पनि छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा विभिन्न अवधिको जेल सजाय सुनाएको छ। प्रतिवादीहरूको अनुपस्थितिमै मुद्दाको सुनुवाइ गरिएको भन्दै उनीहरूले सबै आरोप अस्वीकार गरेका छन्।
सजायपछि लेबर पार्टीका प्रवक्ताले टुलिप सिद्दिकलाई कानुनी प्रक्रियाको आधारभूत अधिकारसमेत नदिइएको दाबी गर्दै उनलाई आरोपबारे औपचारिक जानकारी नै नदिइएको बताएका छन्। निष्पक्ष सुनुवाइ बिना दिइएको फैसला स्वीकार गर्न नसकिने पार्टीको धारणा छ।
यो चार वर्षको सजाय गत वर्ष अन्त्यतिर सुनाइएको दुई वर्षको सजायमा थपिएको हो। सिद्दिकमाथि सन् २०२५ डिसेम्बरमा ढाकाको बाहिरी क्षेत्रमा जग्गा प्राप्त गर्न काकी शेख हसिनालाई “विशेष अधिकार” प्रयोग गर्न प्रभाव पारेको आरोपमा दोषी ठहर गरिएको थियो।
ह्याम्पस्टेड एण्ड हाइगेट क्षेत्रकी सांसद सिद्दिकले यस सम्पूर्ण प्रक्रियालाई “सुरुदेखि अन्त्यसम्म त्रुटिपूर्ण र हास्यास्पद” भन्दै आलोचना गरेकी छन्। उनले बंगलादेशी अधिकारीहरूसँग आफ्नो कुनै सम्पर्क नरहेको भए पनि लामो समयदेखि दुर्भावनापूर्ण आरोप लगाइँदै आएको दाबी गरेकी छन्।
काकीसँगको सम्बन्ध र लन्डनस्थित सम्पत्तिहरू प्रयोगसम्बन्धी प्रश्न उठेपछि सिद्दिकले सन् २०२५ जनवरीमा बेलायतको ट्रेजरी मन्त्री पदबाट राजीनामा दिएकी थिइन्। प्रधानमन्त्रीका नैतिक सल्लाहकारले अनियमितताको प्रमाण नदेखिएको बताए पनि सम्भावित प्रतिष्ठागत जोखिम औंल्याएका थिए।
शेख हसिना र उनका परिवारजनविरुद्धका मुद्दा उनी सत्ताच्युत भएपछि दर्ता गरिएका हुन्। हसिनाले करिब १५ वर्ष देशको नेतृत्व गरेकी थिइन् र २०२४ अगस्टमा जनआन्दोलनपछि भारत प्रस्थान गरेकी थिइन्। उनले आफूमाथि लगाइएका सबै मुद्दालाई राजनीतिक प्रेरित र पक्षपाती भन्दै अस्वीकार गरेकी छन्।


