लण्डन । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमा दीर्घकालीन प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेको छ। यसलाई सार्वजनिक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।
संसदबाट पारित कानूनअनुसार सन् २००८ डिसेम्बर ३१ पछि जन्मिएका व्यक्तिहरूले जीवनभर चुरोट किन्न पाउने छैनन्। यसले हालको उमेर-आधारित सीमा हटाउँदै हरेक वर्ष न्यूनतम उमेर बढाउँदै लैजाने व्यवस्था लागू गर्नेछ।
धूम्रपानविरुद्ध काम गर्ने संस्था Action on Smoking and Healthका प्रमुख कार्यकारी हेजल चिजम्यानले यो कदमलाई धूम्रपान अन्त्यतर्फको महत्वपूर्ण उपलब्धि बताएका छन्। उनका अनुसार अब धूम्रपान अन्त्य “टाढाको लक्ष्य नभई अनिवार्य प्रक्रिया” बन्दै गएको छ।
कानून लागू हुनुअघि चार्ल्स तृतीयको औपचारिक स्वीकृति आवश्यक हुनेछ, जुन सामान्यतया औपचारिक प्रक्रिया मात्र मानिन्छ। त्यसपछि सरकारले सुर्तीजन्य पदार्थ, भेपिङ उपकरण र निकोटिनजन्य उत्पादनमा स्वाद, प्याकेजिङ र वितरणसम्बन्धी कडा नियम लागू गर्न सक्नेछ।
हाल बेलायतमा १८ वर्षभन्दा कम उमेरकालाई चुरोट वा भेप बेच्न प्रतिबन्ध छ। नयाँ कानूनले यस व्यवस्थालाई अझ कडा बनाउँदै दीर्घकालीन रूपमा धूम्रपान अन्त्य गर्ने लक्ष्य राखेको छ। यससँगै बेलायत विश्वकै कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक बन्नेछ।
सरकारी तथ्यांकअनुसार बेलायतमा हरेक वर्ष करिब ८० हजार जनाको मृत्यु धूम्रपानका कारण हुने गर्दछ। अझै करिब ६४ लाख मानिस, अर्थात् झन्डै १३ प्रतिशत जनसंख्या धूम्रपानमा संलग्न छन्।
स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले यो कानूनले बेलायतका बालबालिकालाई ‘पहिलो धूम्रपान–मुक्त पुस्ता’ बनाउने विश्वास व्यक्त गरेका छन्।


