काभ्रेपलाञ्चोक । पृथ्वी राजमार्गको कृष्णभिरमा पहिरो र बाढीका कारण सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग भइरहेको बीपी राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।
बढ्दो सवारी चाप व्यवस्थापन तथा सम्भावित जाम र दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधन सञ्चालनमा नयाँ व्यवस्था लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनलाई आलोपालो (टोकन/पालो) प्रणालीमार्फत रातको समयमा मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो।
राजमार्गको क्षमता तथा सडकको अवस्थालाई ध्यानमा राख्दै १० टनभन्दा बढी भार भएका मालवाहक सवारीसाधन सञ्चालनमा समेत रोक लगाइएको छ। साँघुरो सडकमा बढी भार भएका सवारीसाधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले तौलको सीमा तोकिएको प्रशासनले जनाएको छ।
काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार धुलिखेल–खुर्कोट सडकखण्डमा दुवैतर्फबाट आउने मालवाहक सवारीसाधन बीच बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय तालिका मिलाइएको छ। यसका लागि सिन्धुली जिल्ला प्रशासन र ट्राफिक प्रहरीसँग आवश्यक समन्वय भइरहेको उनले बताए।
त्यस्तै, ग्यास बुलेटलगायत ठूला तथा संवेदनशील मालवाहक सवारीसाधनलाई धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको प्रत्यक्ष निगरानीमा मात्र सञ्चालन गर्न दिइने भएको छ।
सडक सुरक्षालाई ध्यानमा राख्दै डिभिजन सडक कार्यालय भक्तपुरले जोखिमयुक्त तथा साँघुरा घुम्ती पहिचान गरी तत्काल सुधारको काम अघि बढाउने जनाएको छ।
डिभिजन सडक कार्यालयका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार सम्भावित अवरोध तत्काल हटाउन तथा सवारी आवागमन सहज बनाउन राजमार्गका संवेदनशील स्थानमा डोजर र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको छ।


