धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शीर्षकपिच्छे आर्थिक अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। अख्तियारको केन्द्रीय कार्यालयका एसपी टेकबहादुर तामाङ नेतृत्वको टोलीले बिहीबार छानबिन अघि बढाएको हो।
प्रतिष्ठान भ्रष्टाचारले धराशायी भएको विषयमा अन्नपूर्ण पोष्ट्मा समाचार प्रकाशन भएको थियो। उक्त समाचारसहित विभिन्न २५ शीर्षकमा गरिएका भ्रष्टाचारको उजुरी परेपछि अख्तियार केन्द्रीय कार्यालय र इटहरीबाट खटिएको टोली अनुसन्धानमा लागेको हो। एसपी तामाङले प्रतिष्ठानमा औषधि, उपकरण खरिद, भौतिक पूर्वाधार निर्माण, कर्मचारी नियुक्ति, आवासको दुरुपयोग, नक्कली हाजिर गरिएकोलगायत विषयमा उजुरी परेकाले छानबिन थालिएको जानकारी दिए।
उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सुरुदेखि नै प्रतिष्ठानमा चाहिने औषधि, उपकरण खरिद, अक्सिजन प्लान्ट सञ्चालन र भौतिक पूर्वाधार निर्माणमा आर्थिक अनियमितता गरेका थिए। गिरीसँगै रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको मिलेमतोमा प्रतिष्ठानमा भ्रष्टाचार मौलाएको भन्दै अख्तियारमा उजुरी परेको थियो। त्यस्तै, शिक्षाध्यक्ष डा. गुरु खनालले पनि कार्यवाहक उपकुलपति भएका बेला ठेकेदारसँग मिलेमतो गरी ठूलो रकम अपचलन गरेको आरोप लागेको छ।
चारै पदाधिकारी प्रतिष्ठानलाई धराशायी बनाउने काममा सक्रिय रहेको भन्दै यहाँका चिकित्सक र कर्मचारी दुई महिनादेखि आन्दोलनमा छन्। पदाधिकारी बर्खास्त गरी प्रतिष्ठानलाई शुद्धीकरण गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन्। आर्थिक अनियमितता छानबिन गरी दोषीउपर तत्काल कारबाही गर्नुपर्ने माग रहेको प्रतिष्ठान शुद्धीकरण अभियानका सहसंयोजक डा. विष्णु पोखरेलले बताए।
प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा आठ सदस्यीय समिति गठन गरेका थिए। उक्त समितिले पदाधिकारीले विभिन्न शीर्षकमा आर्थिक अनियमितता गरेका कारण प्रतिष्ठानको अवस्था नाजुक बनेको भन्दै चारै पदाधिकारीलाई कारबाही गर्नुपर्ने सुझावसहित देउवालाई प्रतिवेदन बुझाएको थियो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पदाधिकारीहरू गिरी, रेग्मी, खनाल र साहलाई मन्त्रालयमा बोलाएर तत्काल अरूलाई बाटो खुला गर्न अनुरोध गरेका थिए। तर, चारै जनाले अस्वीकार गरेका थिए । त्यसपछि धरान आएको अख्तियारले आर्थिक अनियमितता गरेको विषयका सबै कागजपत्र नियन्त्रणमा लिएको छ। गिरीले आफ्ना मान्छे भर्ना गरी प्रतिष्ठानलाई थप आर्थिक भार थपेको कर्मचारी कल्याण समाजका अध्यक्ष उमेश श्रेष्ठले बताए। उनले नियमविपरीत पदाधिकारीहरूले विभिन्न सेवासुविधा लिएको बताए। यस विषयमा पनि छानविन गरि दोषीउपर कारबाही गरिनुपर्ने उनको माग छ।
प्रतिष्ठान भ्रष्टाचारको अखडा बनेको र स्वास्थ्य सेवा कमजोर बनेको भन्दै एमाले, कांग्रेस, जसपालगायत ९ दल र धरान नागरिक दबाब समूहका प्रतिनिधि प्रधानमन्त्री र विभागीय मन्त्रीहरूलाई भेट्न काठमाडौं गएका छन्। टोलीले सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटी तत्काल प्रतिष्ठान सुधार्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्। सञ्जालका संयोजक राजेन्द्र पोखरेलले अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाउनु सकारात्मक भएको बताए।


