काठमाडौं । अविरल वर्षापछि कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुमवासीहरूलाई सरकारले भक्तपुरको खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको छ।
शनिबार र आइतबार बिहान गरी दुई दिनमा ३१ घरपरिवारका ८९ जनालाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ भने केही परिवारलाई भक्तपुरकै बोडेमा व्यवस्थापन गरिएको सरकारी स्रोतले जनाएको छ।
बागमती नदी किनारका बस्ती डुबानको जोखिममा रहेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा गत वैशाख १२ गते थापाथलीलगायतका क्षेत्रबाट सुकुमवासीहरूलाई हटाएर अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखिएको थियो। प्रारम्भमा १५ दिनका लागि भनिए पनि दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि उनीहरूको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन।
दुई दिनअघि मध्यरातमा आएको बाढीले होल्डिङ सेन्टर जलमग्न भएपछि अधिकांश सुकुमवासीका घरायसी सामान, लत्ताकपडा तथा दैनिक उपभोगका सामग्री नष्ट भएका छन्। अचानक बाढी पसेकाले धेरैले आफ्ना सामान सुरक्षित स्थानमा सार्ने अवसरसमेत पाएनन्।
होल्डिङ सेन्टर पूर्ण रूपमा डुबानमा परेपछि सुरक्षाकर्मीले डुङ्गाको सहायताले उद्धार अभियान सञ्चालन गरेका थिए।
सुरक्षा निकायका अनुसार सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनालाई तत्काल उद्धार गरी त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा अस्थायी रूपमा राखिएको थियो। अन्य ६ जना आफन्त वा नजिकैका स्थानमा गएका थिए भने बाँकी केहीले सुरुमा स्थानान्तरण हुन अस्वीकार गरेका थिए।
पछि सरकारले प्रभावित सुकुमवासीहरूलाई भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको भए पनि उनीहरूको स्थायी पुनर्स्थापना र दीर्घकालीन व्यवस्थापनको चुनौती अझै कायम रहेको छ।


