काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न परिस्थितिका साथै खोजी तथा उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको प्रगतिबारे जानकारी लिन प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग छलफल गरेका हुन्। उनले आवश्यक निर्देशनसमेत दिने बताइएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिसकेका छन्।
प्रधानसेनापति सिग्देलसँगको छलफलपछि प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यसूची रहेको छ।
यसैबीच, बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार ८४ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खातामा ८ अर्ब ७८ करोड ८२ लाख ५८ हजार ३०४ रुपैयाँ र दुईवटा वाणिज्य बैंकका खातामा २ करोड ११ लाख ४३ हजार ४२७ अमेरिकी डलर मौज्दात रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्य सञ्चालन गर्न कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न सार्वजनिक आह्वान गरेपछि स्वदेश तथा विदेशबाट रकम संकलन भई कोषमा दाखिला हुने क्रम जारी रहेको छ।


