काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकको निःशुल्क उपचार गर्ने काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले घोषणा गरेको छ।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीमा परी घाइते भएका बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो। विषम परिस्थितिमा घाइतेको उपचारमा सहयोग पु¥याउने उद्देश्यले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा आवश्यक उपचारको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल उपचार आवश्यक पर्ने घाइतेको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालले प्रभावित घाइतेलाई सहज रूपमा उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरेको हो। अस्पतालले बाढी प्रभावित बिरामीलाई उपचारका लागि केएमसी दुवाकोट, भक्तपुरमा ल्याउन आग्रह गरेको छ।
घाइतेलाई अस्पतालसम्म पु¥याउन सचेत नागरिक, संघसंस्था तथा सहयोगी व्यक्तिहरूलाई आवश्यक सहजीकरण गरिदिन पनि अस्पतालले अनुरोध गरेको छ। अस्पतालका अनुसार औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ।
केएमसीका प्रशासन प्रमुख नारायणप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा बाढीबाट प्रभावित घाइतेलाई दुवाकोट अस्पतालमा ल्याई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ।
केएमसीले यसअघि पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक अभाव तथा विपद्का कारण उपचारमा समस्या परेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। गम्भीर बिरामीको निःशुल्क उपचार, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेको उपचारमा सहयोग तथा एम्बुलेन्स हस्तान्तरणलगायत सामाजिक तथा मानवीय कार्यमा अस्पताल सक्रिय रहँदै आएको छ।


