Thursday, August 20, 2026
Homeराजनीतिबागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

बागमतीको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का किरण थापा मगर नियुक्त भएका छन् । एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा बिहीबार थापा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गरेका थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

थापाले ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित सरकार गठनका लागि दाबी पेस गरेका थिए । उनलाई एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको छ ।

यद्यपि, थापालाई समर्थन गर्ने विषयमा राप्रपाभित्र विवाद देखिएको छ । पार्टीभित्रको विवादकै बीच प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

यसअघि बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत नपाउने अवस्था बनेपछि भदौ १ गते पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख देवकोटाले नयाँ सरकार गठनका लागि आह्वान गर्दै भदौ ४ गते अपराह्न ४ बजेसम्मको समयसीमा दिएका थिए ।

थापा बागमती प्रदेशसभाको दोस्रो कार्यकालका चौथो मुख्यमन्त्री बनेका छन् । यसअघि नेकपाका शालिकराम जम्कट्टेल, कांग्रेसका बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका