काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले बाँदर, बँदेल र हात्तीको बढ्दो आतंकका कारण देशका विभिन्न स्थानका किसान गाउँ छाड्न बाध्य भइरहेको बताएकी छन्।
सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जंगली जनावरले किसानले वर्षभरिका लागि लगाएको अन्नबाली खेतबारीमै नष्ट गर्नुका साथै घरभित्र भण्डारण गरेर राखिएको अन्नसमेत खाइदिने गरेको गुनासो गरिन्।
‘देशभर बाँदर र बँदेलको समस्याले गरिखाने किसान गाउँ छाड्न बाध्य भएका छन्। किसानले वर्षभरि खानका लागि लगाएको अन्नबाली खेतबारीमा मात्र होइन, घरभित्र भण्डारण गरेर राखिएको अन्नसमेत बाँदरले खाइदिने गरेको छ,’ उनले भनिन्।
सांसद शर्माले बाँदरको आक्रमणका कारण सर्वसाधारण एक्लै हिँड्नसमेत डराउनुपर्ने अवस्था सिर्जना भएको बताइन्।
‘एक्लै हिँडडुल गर्दा पनि बाँदरले आक्रमण गर्ने भएकाले मानिसहरू डराएर हिँड्नुपर्ने अवस्था छ,’ उनले भनिन्।
सांसद शर्माले किसानको खेतीपाती र जनजीवन सुरक्षित बनाउन बाँदर, बँदेल र हात्तीको आतंक नियन्त्रणका लागि सरकारले तत्काल प्रभावकारी योजना लागू गर्नुपर्ने माग गरिन्।


