Friday, June 26, 2026
Homeसुन्दर नेपालफ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ।

फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त रूपमा आयोजित ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रेरित गर्दै नेपाललाई आफ्ना यात्रा योजनामा समावेश गर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम हो। यहाँ आउने जो कोहीले अविस्मरणीय अनुभव प्राप्त गर्नेछन्।” साथै, उहाँले नेपाल सरकारले पर्यटन प्रवद्र्धनका लागि अवलम्बन गरिरहेका नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै नेपाललाई सुरक्षित र आकर्षक गन्तव्यका रूपमा प्रचार गर्नुभयो।

फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले नेपाल–फ्रान्स सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने फ्रान्सेली नागरिकहरूले सकारात्मक अनुभव लिने विश्वास व्यक्त गर्नुभयो।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रवद्र्धनका लागि चालेका कदमबारे प्रकाश पार्दै फ्रान्सेली पर्यटकलाई लक्षित विशेष प्याकेज उपलब्ध रहेको जानकारी दिनुभयो।

सो अवसरमा प्रसिद्ध फ्रान्सेली पर्वतारोही स्वर्गीय मौरिस हर्जोगकी पत्नी एलिजाबेथ हर्जोगलाई सम्मान प्रदान गरियो। सम्मान ग्रहण गर्दै उनले नेपालसँगको आफ्नो विशेष सम्बन्धबारे चर्चा गर्दै नेपाल भ्रमणका सुखद अनुभव साझा गर्नुभयो।

कार्यक्रममा करिब ६० जना पर्यटन व्यवसायी, संस्कृतिप्रेमी तथा नेपालप्रति रुचि राख्ने व्यक्तिहरूको सहभागिता थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका